पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता

काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको ‘विवादास्पद’ अभिव्यक्ति फिर्ता लिएका जनाएको छ ।
सोमवार दिउँसो नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूलाई सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।
गएको चैत ३ गते नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुखले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए । पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याउनुभएको महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।
उनले भने, ‘पत्रकारलाई लिएर दुर्घटनावश गरिएको टिप्पणीलाई संसद् सचिवालय, सभामुखको तर्फबाट सच्याइएको छ । सभामुखले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति संसद् र आफू पूर्ण प्रतिबद्ध भएको जानकारी गराएका छन् । सभामुखज्यू र नेपाल पत्रकार महासङ्घको बीचमा यही छलफल भयो । यो विषयलाई यही टुङ्ग्याउने निर्णय पनि गरेका छौँ ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया