सिंहदरबार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री निवासको फोहोर उठाउन सुरु

काठमाडौं, १२ वैशाख । दुई हप्तादेखि अवरुद्ध रहेको सिंहदरबार परिसर, राष्ट्रपतिको कार्यालय र बालुवाटारस्थित प्रधानमन्त्री निवासको फोहोर उठाउन सुरु भएको छ।
सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएको थियो। सोमबारदेखि सिंहदरबारभित्रको फोहोर सङ्कलन तथा व्यवस्थापन सुरु भएको छ। महानगरले सिंहदरबारको फोहोर उठाउन छोडेपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले फोहोर उठाउन महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को निर्देशनपछि फोहोर व्यवस्थापन गर्ने कम्पनीले गत चैत २५ गतेदेखि सिंहदरबार, राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री निवासको फोहोर व्यवस्थापन गर्न छोडेको थियो। अति विशिष्ट सरकारी कार्यालय र निवासको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको परिवर्तन नेपाल प्रालिका प्रमुख सञ्चालक मित्रप्रसाद घिमिरेले कामपाका प्रमुख कार्यकारी अधिकृत वसन्त अधिकारी र महानगरप्रमुख शाहको सचिवालय सदस्य सुनील लम्सालबाट प्राप्त निर्देशनपछि आफूहरूले फोहोर व्यवस्थापनको काम सुरु गरेको बताए।
उनका अनुसार सिंहदरबारको फोहोर व्यवस्थापन सोमबार बेलुकासम्म सम्पन्न भएको छ भने राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री निवासको फोहोर व्यवस्थापन मङ्गलबार बिहान सम्पन्न गरिनेछ। सिंहदरबारमा २५ मेट्रिक टन, शीतल निवास र बालुवाटारमा २०÷२० मेट्रिक टन फोहोर जम्मा भएको थियो। सोमबार सङ्कलन गरिएको फोहोरलाई चाबहिलमा जम्मा गरिएको छ भने त्यसलाई मङ्गलबार बन्चरेडाँडा लगिनेछ।
क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
प्रतिक्रिया