रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘कोमा’ मा

काठमाडौं, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) ‘कोमा’मा गएका छन्।
राति सुतेका बेला शंकास्पद रूपमा चितवनस्थित तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि यही वैशाख ५ गते ललितपुरस्थित मेडिसिटी ल्याइएको थियो। त्यस बेलादेखि नै बेहोस उनी अहिले कोमामा रहेको अस्पताल स्रोतले बुधबार जानकारी दिएको छ।
चुनावी अभियानका क्रममा यही वैशाख ४ गते भरतपुर महानगरपालिका–११ स्थित तीनतले घरमा सुतेका उनी बिहान छतबाट खसेर गम्भीर घाइते भएका थिए। उनी घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ। घटना अनुसन्धानका लागि प्रहरीले रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुप्रसाद राजवंशीलाई नियन्त्रणमा लिएको छ। चालक शम्भु त्यस दिन राजवंशीसँगै सुतेका थिए।
छतबाट खसेर गम्भीर घाइते भएपछि उनलाई भरतपुरकै पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको त्यहाँ टाउकाको शल्यक्रिया गरिएको थियो।
भेन्टिलेटरमा राखिएका उनको उपचार त्यहाँ सम्भव नभएपछि मेडिसिटी अस्पताल ल्याइएको हो। तर यहाँ ल्याएपछि पनि उनको स्वास्थ्य अवस्था स्थिर नै थियो। अहिले उनलाई कोमामा राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #rabi lamichhane
प्रतिक्रिया