Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

‘केटासँग किन बोलेको’ भन्दै १३ जना केटीले भाकाभक भकुरेपछि…


विराटनगर, १४ वैशाख । केही दिनअघि सामाजिक सञ्जालमा विद्यालयमा केही विद्यार्थीहरू एकापसमा झगडा गरेको भिडियो सार्वजनिक भयो। एक हुल छात्राले एक्ली किशोरीलाई कुटपिट गरेको दृश्य देख्न सकिन्थ्यो। घटना मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित कालिका माविको हो। वैशाख ६ गते भएको घटनामा कक्षा ८ मा पढ्ने १४ वर्षीया नीता (नाम परिवर्तन)लाई सोही स्कुलमा अध्ययनरत माथ्लो कक्षाका छात्राले झापड हानेकी थिए।

के थियो झगडाको कारण ?

झगडाको कारण थियो पीडित नीता कुनै किशोरसँग बोलको। किशोरसँग किन बोलेको भन्दै ती किशोरीले नीतालाई झापड हानेकी थिइन्। एक्कासी पिटाइ खाँदा नीता जवाफविहीन बनिन्।

जवाफमा उनले भनेकी थिइन्, ‘म हैन ऊ आफै बोलेको हो।’ उनीमाथि आइलाग्ने ती एक्ली किशोरी मात्रै थिइनन्। उनीसँग १३ जनाको समूह थियो। त्यही समूहले जथाभावी गालीगलौजसँगै शारीरिक पीडा पनि दिए।

त्यसो त पीडित किशोरीलाई मात्र नभएर उनकी आमालाई समेत त्यो समूहले अनेक लाञ्छना लगाएको थियो। त्यो आक्रामक भीडमा उनी निरुत्तर भइन्। न प्रतिकार गर्न सकिन् न कुनै जवाफ नै फर्काउन नै सकिन्।

भिडियो सार्वजनिक भएपछि उजुरी

कुट्न थालेको भिडियो त्यहीमध्येकै एक किशोरीले खिचेकी थिइन् भने त्यही समूहबाट भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

छोरीमाथि सामूहिक रूपमा आक्रमण भएपछि नीताकी आमाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ‘ज्यान मार्ने उद्योग’को जाहेरी दिएकी थिइन्। जाहेरीपछि प्रहरीले पीडित किशोरीलाई कुटपिट गर्ने १३ जनालाई वैशाख ११ गते नियन्त्रणमा लिएको छ। घाइते किशोरीको बी एन्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कक्षा ८ देखि कक्षा १० सम्मका किशोरीहरू रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको छ।

 


क्याटेगोरी : जनमञ्च, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट