Techie IT
  • ३२ असार २०८१, सोमबार
Jhilko

सोलुखुम्बुमा मकैको बीमा


सोलुखुम्बु, १४ वैशाख । सोलुखुम्बुमै पहिलो पटक थुलुङ दूधकोशी गाउँपालिका–१ नेलेले मकै बालीको बीमा गराएको छ । रोग, किरा तथा अन्य विपत्तिबाट किसानलाई हुनसक्ने नोक्सानलाई कम गर्न वडाले जिल्लामै पहिलो पटक मकै बालीको बीमा गराएको हो ।

वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० को बजेटमै समावेश गरी २ सय ४७ जना किसानले १ सय २२ हेक्टर क्षेत्रफलमा लगाएको मकै बालीको बीमा गर्दा वडाले १ लाख ३८ हजार रुपैयाँ रकम भुक्तानी गरेको वडाध्यक्ष घनराज सुनुवारले बताउनुभयो।

किसानले एक हेक्टरमा लगाइएको मकै खेतीको ९३ हजार रुपैयाँ बराबरको बीमा गर्न पाउने नियम रहेको छ । नेले क्षेत्रका किसानले प्रतिव्यक्ति करिब आधा हेक्टर क्षेत्रफलमा मकै खेती गरेका छन् । बीमा गरिएको बालीमा रोग, किरा तथा प्राकृतिक विपत्तिहरुबाट क्षति भएको खण्डमा करिब ९० प्रतिशत रकम बीमा बापत पाउने बीमा कम्पनी आईएमई जनरल इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले जनाएको छ।

नेलेले गराएको अन्न बाली बीमा जिल्लाकै पहिलो भएको इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक खगेन्द्र वनले बताए । जिल्लामा फलफूल बीमा प्रायजसो किसानहरुले गराएको भए पनि अन्नबालीको बीमा पहिलो पटक सुरु गरिएको प्रबन्धक वनले बताए ।


क्याटेगोरी : कृषि, समाचार, कोशी प्रदेश
ट्याग : #maize

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट