सास फेर्न पनि पाइन्न

सास फेर्न पनि पाइन्न


साइँला भाइ

एका विहानै नेवि संघका केटाहरु सानेपामा भेला भइसकेका थिए । कतिबेला शेर’दा आउने र निर्देशन दिने हुन भनी व्यग्र प्रतिक्षामा थिए । हिजो छाडी अस्ति चिकित्सा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएपछि कांग्रेसले राजनीतिको विजिनेस पाएको हो । नत्र चुनाउ पछि कांग्रेस खेलो हराएको जस्तै भैसकेको थियो । त्यो विजिनेसलाई नेविसंघमार्फत देशव्यापी बनाएर बामपन्थी सरकारलाई हायलकायल बनाउनु कांग्रेसको आजको आवश्यकता हुँदै हो । यति गर्न नसक्ता कांग्रेसको उपस्थिति राजनीतिमा देखिन्न थियो ।

शेर’दा आउन बाँकी नै थियो, गगन थापा टुप्लुक्क आइपुगे । उनीसँगसँगै जस्तो चन्द्र भण्डारी, प्रदीप पौडेललगायतका नेविसंघका पूर्व युवा सभापतिहरु पनि जम्मा हुँदै गए । चिया गफसँगै कांग्रेसको भावी रणनीतिका बारेमा छलफल सुरु भयो । सदन भित्रको ठेलमठेल, धक्कामुक्कि प्रसंगबाट गफ सुरु हुँदै थियो । यतिकैमा एक जना विद्यार्थीले गगनतर्फ फर्केर भने, ‘गगन’दा तपाई जस्तो क्रान्तिकारी, हिजो राजालाई पनि नटेर्ने ढुंगामुडा गर्न सक्नेले गिरिराजमणीलाई पछार्न सक्नु भएन ? त्यति जाबो बाहुनलाई क्षेत्रीको छोरोले रोक्न नसक्नु भनेको क्षेत्रीय कुलबंशमै दाग लागेजस्तो लाग्यो मलाई ?’ यति भनेर ति केटाले कुराको विषय प्रवेश गराइ दिए । 

‘मुलत ः कुरो त्यसो होइन । बाहिर सडकमा ढुंगामुढा गर्न सजिलो हुन्छ । तर, सदनभित्र बचनले कार्वाही गर्नु पर्छ । मैले पूरै न्वारानदेखिको बल लगाएर वचन, प्रवचन प्रक्रियाद्वारा अनेक पटक घोचपेच गरेको हुँ । तर, यी कम्निस्टेहरुलाई प्रबचन, बचन, केहीले छुँदो रहेनछ । वेल घेर्ने मामिलामा पनि मैले अग्रपङ्तिmमा उग्र पदर्शन गरेकै हुँ । त्यतिमात्र होइन अन्तिम दिन सभामुखलाई नराम्रो बचन पनि लाएकै हुँ । यतिले नपुगेर गिरिराजमणिको चाकमा नराम्रोसँग चिमोटी दिएको थिएँ । 

सुन्दैछु आजभोलि ओखतीमुलोसहित चाकमा सेकताप गर्दैछन रे ! रिस उठेको बेला बाहुनले त वेद पढ्दैन भन्छन । म खाँटी क्षेत्रीय कुल वंशको दाग लाग्न किन दिन्थे र ?’ गगनले आफ्नो गनगन शैलीमा केटाहरुलाई प्रस्टीकरण दिए । 

यता नेताहरु आउने क्रम जारी थियो । निधि, गच्छेदार, गोपालमान, रामचन्द्र, बालकृष्ण सबै भवनभित्र छिरी सकेका थिए । अर्जुन नर्सिङ नुवाकोटे शैलीमा आफ्ना समर्थकसंगै झुल्किए । जै नेपाल गर्दै हातमोल्दै उनी पनि सभाकक्षतिर लागे । अन्तिममा प्रवक्ता विश्वप्रकाश र शेर’दा एउटै गाडीबाट ओर्लिए ।       
हतारहतार जय नेपाल फर्काउँदै केटाहरुलाई सभाकक्षमा आउने इशार गर्दै भित्र छिरे ।

कुनै औपचारिकता विनै कार्यक्रम सुरु भयो । शशांक कोइरालाले निधीलाई कार्यक्रम बढाउन इशारा गरे । उनले एकै चोटी देउपालाई बोलबचनन, निर्देशन जारी गर्न आग्रह गरे । 

‘हेर केटा हो । मैले चुनाउको बेलामा कम्युनिष्टले जिते भने रुन पाइदैन, हाँस्न पाइदैन भनेर भनेको थिएँ, आज प्रस्ट भयो कि भएन ? हामीले यसो सदनमा रुनु परो भनेको त मर्यादा पालक नामको मुसदण्डेहरु लगाएर हामीलाइ घचेडी छाडे । उहिले उनीहरुले दुई महिना सदन घेर्दा पनि हामीले केही गरेका थिएनौ । अहिले त हामीलाई उठ्न पनि नदिई घेर्छन बा । रुन त दिँदैनन् भने हास्न झन् के देलान ?’ शेरबहादुरले एक हरफ कुराको थालनी गरे ।

यतिकैमा दर्शक दीर्घाबाट नेविसंघका केटाहरुले देउपाको कुरामा हो मा हो मिलाए । केटाहरुले नारा पनि सुरु गरे, ‘नेता एक इशारा देऊ ः फाँडिदिन्छौं अधिनायकवाद ।’ बैठक तात्न खोजेजस्तो हुँदै थियो । 

देउपाले फेरि अर्को हरफ भन्न सुरु गरे, ‘राजा फालेर प्रजातन्त्र, गणतन्त्र ल्याएको त यी मोरा बाँदरको हातमा नरिवल दिए जस्तो पो भएछ । सुन केटा हो, अब सास फेर्न पनि यिनीहरुले नदिने भए । गिरिजाबाबुको नाममा सास फेर्ने अस्पताल खोल्ने निधो गरेका थियौं । सबै नेपालीहरु सासका रोगी छन्, दमका रोगी छन्, गिरिजा बाबु पनि सासको रोगी हुनुहुन्थ्यो उहाँको मृत्यु त्यही सास फेर्न नसकेको कारणले भएको थियो । तर अस्तिको विधेयकमा त्यस्तो अस्पताल नखोल्ने निधो गरे । 

यतिमात्र होइन, शुशिल’दा क्यान्सरको रोगी हुनुहुन्थ्यो उहाँको नाममा पनि क्यान्सर अस्पताल खोल्ने हाम्ले गरेको निधो विधेयकमा पारेनन् । यति अचाक्ली त गर्नु भएन नि बा ।’

‘सास फेर्न पनि नदिनेलाई के के गर्नु पर्छ निधो चाहियो । हामी तिनलाई पनि सास फेर्न दिन्नौ ।’ दर्शकदीर्घाबाट केटाहरुले ठूलठूलो स्वरमा कराए ।
‘जस्तालाई तस्तै ढिँडालाई निस्तै गर्नु परो बा ।’ देउपाले निर्देशन जारी गरे ।

जनान्दोलन देखेका, भोगेका, सहभागी भएकाहरुले त कुरो बुझेर मुण्टो हल्लाए । तर, जनान्दोलन नदेखेका, नभोगेका, सहभागी नभएका भालेको सिउर जस्ता रंगीचंगी जुरो बनाएका केटाहरु अक्क न बक्क भए ।

नयाँ नौतुन केटाहरु छक्क परेपछि देउपाले फेरि प्रस्ट पार्दै भने, ‘अब दिनदिनै जुलुस लाउनू । उतिबेला हाम्रा नेता गिरिजाबाबुको नामै काढेर ‘यसपालीको हैंजा, ...... लैजा’ भन्ने नारा लाउँथे,  ‘..... चोर देश छोड’ भन्थे, पुतला बनाएर शंख फुक्दै डढाउँथे, अब तिनीहरुको नामै लिएर त्यसो गर्नू । जस्तालाई तस्तै ढिँडालाई निस्तै भनेको यही हो ।’  समयबद्ध साप्ताहिकबाट