मध्य रातमा जन्मेको टाउको विनाको जनता समाजवादी पार्टी, यो नयाँ विकल्प बन्ला ?

मध्य रातमा जन्मेको टाउको विनाको जनता समाजवादी पार्टी, यो नयाँ विकल्प बन्ला ?

झिल्को टिप्पणी

काठमाडौं । चौतर्फी कोरोना भाइरसको त्राहीमामका बीच आममानिस बन्दाबन्दीमा घरघरमा बसेका बेलामा एउटा पार्टी जन्मियो, मध्यरातमा । नाम जनता समाजवादी नेपाल पार्टी । चुनाव चिन्ह छाता । पार्टीको जन्म कोरोनाकालमा, त्यसमा पनि मध्यरातमा । नेपालमा कोरोना आएको नयाँ पार्टी जन्माउन भन्या जस्तो देखियो । 

कोरोना कहरमा जनता पिल्सिएका बेला जन्मिएको दल जनताका लागि हर्ष न विष्मात भने झैं हो । किनभने न यसमा जनताको दुःखको कुनै सम्वोधन छ न त जनताको सहभागिता नै । कसैको लहड, रहर वा वाध्यतामा जन्मने दल नामै मात्रले जनताका लागि हुन सक्दैनन्, नेताका तुष्टि मेटाउने मञ्च सिवाय । 

हो, १० वैशाखको मध्यरातमा उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपा नेपालबीच एकता गरेर नयाँ पार्टी बनाउने सहमतिपछि यसको प्रक्रिया मिलाउन निर्वाचन आयोगदेखि सभामुखसम्मलाई पत्राचार गरिएको छ । डा. बाबुराम भट्टराई निवास विशालनगरमा भएको लामो छलफलपछि बुधबार मध्यरातमा दुई पार्टीबीच एकता भएको हो । पूर्ण वैधानिकताका लागि नयाँ पार्टीले कानुनी र संवैधानिक प्रावधानहरु पूरा गर्ने प्रक्रिया भने जारी छ । 

एकताको सहमतिपत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महत्तो, महेन्द्र राय यादव र शरद सिंह भण्डारी तथा समाजवादीबाट उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । कोरोनाकालको एकतापछि जन्मेको एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल भनिएको छ, जहाँ जनता र समाज मस्त निन्द्रामा परेका बेला पार्टी जन्मिएको छ । ती दुई पार्टीबीच यसअघि पटकपटक छलफल भएपछि एकता हुन सकेको थिएन । 

वैशाख ८ गते केपी ओली नेतृत्वको सरकारले दल विभाजन खुकुलो हुने गरी ल्याएको अध्यादेशको त्रासले मध्यरात राजपा र समाजवादी पार्टीबीच एकता भएको हो । सरकारले अध्यादेशको अस्त्र देखाउना साथ जन्मेको हुनाले समाजवादी जनता पार्टीलाई अध्यादेशले जन्माएको दल भन्दा पनि फरक पर्ने छैन । 

अध्यादेशबाट राजपा र समाजवादी दुबै पार्टी फुट्ने पिरलो टार्न, नयाँ पार्टी त जन्म्यो तर नयाँ पार्टीको नेता को हो ? नीति विचार र सिद्धान्त के हो भन्ने कुनै पनि कुरो छैन । टाउको बिनाको मान्छे जस्तो, मुर्कुटाृे जस्तो, पूर्णांग नभएको शरीर जस्तो छ नयाँ पार्टी । जहाँ नेताको भिड देखिन्छ, तर जनताको सहभागिता शून्यप्रायः । 

सादगी जीवन शैलीका पर्याय पुराना पाका वामपन्थी नेता चित्रबहादुर केसीका शव्द सापटी लिएर भन्ने हो भने नयाँ पार्टीको नेतृत्व पुरेतका घरमा बाँधिएका दाने गाई जस्ता छन् । दाम्लो कसुन्जेल किलामा बस्ने, दाम्लो चुडाउन सके, पाए आआफ्नो घरमा फर्कने दाने गाई जस्ता । चारतिरबाट बटुलिएका चार थरि नेतागणको स्वभाव, पृष्ठभूमि र शैली हेर्दा नयाँ पार्टीका नेता, नेतृत्व पनि त्यस्तै देखिन्छन, दाने गाईका गोठजस्तै । दाम्लोबाट मुक्तिपछि चार दिशामा छरिने खालका । 

पार्टी कसरी बन्छ ? पार्टी निर्माणका आधार र जग के हो ? कुन  विशिष्ट परिस्थितिले पार्टी निर्माण गराउँछ ? यावत कुराहरुको सपाट उत्तर हो विचार, राजनीति, संगठनात्मक ढाँचा आदि । तर, जनता समाजवादी पार्टीको निर्माण कुनै विचार र कार्यदिशाका आधारमा होइन, नेताहरुको स्वार्थको उपज हो । भनिन्छ, रात भुतले जगजगी गर्ने समय हो । नयाँ पार्टीको उदय पनि मध्यरातमा डुल्ने भुत वा मुर्कुटो भन्दा फरक देखिदैन । किनभने न कोही अध्यक्ष वा नेता वा टाउको छानिएका छन न त पार्टीको सैद्धान्तिक नीति छ, न पार्टीको औचित्यको कुनै आधारशीलाहरु नै स्पष्ट पारिएको छ । त्यसैले दुवै मधेशी दलहरुले अध्यादेशबाट पार्टी फुट्ने संकट टार्न मात्रै यो नयाँ राजनीतिक एकतारुपी नाटक गरेका हुन भन्दा अतिशयोक्ति हुने छैन । 

राजपा आफैमा डेट एक्स्पाएर र अरु दलबाट भड्किएर जम्मा भएका पुराना कांग्रेस र गैर कांग्रेसहरुको रिटायर्ड नेताहरुको क्लव जस्तो थियो । ६, ६ जना अध्यक्ष भएको पार्टीले सर्वसम्मत नेता छान्न नसकेका कारण नै चक्रिय प्रणालीमा अध्यक्षता गर्ने चलन चलाएको थियो । भूतपूर्व कांग्रेस नेता महन्थ ठाकुर, शरदसिंह भण्डारी राजपाका नयाँ अतिथि थिए । महेन्द्र यादव तत्कालीन नेकपा एमालेबाट बैरागिएर बिभिन्न साना कोठे दल हुदै राजपातिर लहसिएका थिए । राजेन्द्र महतो तराई, मधेशवादी दलको निरन्तरताका एक विम्व त हुन जो आफू बाहेक कसैलाई न नेता मान्ने, न त नेता हुन दिने खालका नै वयोवृद्ध हुन् ।

यता समाजवादी पार्टी त झन पूर्व वामपन्थीहरुको ठिमाहा दल झैं छर्दै थियो । उपेन्द्र यादव, डा. बाबुराम भट्टराई दुवै पूर्व माओवादी हुन् । यादव माओवादी छोडेर मधेशी जनाधिकार फोरम नामक गैरसरकारी संस्था हुँदै संघीय समाजवादी र समाजवादी दलको तहसम्म उक्लेका नेता हुन । 

आफै नेतृत्वको माओवादीसंग राजनीतिक पारपाचुके गरेर नयाँ शक्ति बनाउने नाममा राजनीतिक रंगमञ्चमा उत्रेका डा. बाबुराम भट्टराईले त नयाँ शक्ति न यता न उता, भुइँमै बेपत्ता भएपछि उपेन्द्र यादवसँग हात मिलाएर आफ्नो राजनीतिक अस्तित्व जोगाउने क्रममा समाजवादीमा पुगेका थिए । पूर्व एमालेका अशोक राई र राजेन्द्र श्रेष्ठहरुको उपस्थितिले त्यो दललाई पहिल्यै बहुरंगी बनाएकै थियो ।

यो सबै पृष्ठभूमिले के सिद्ध गर्छ भने नयाँ बनेको भनिएको जनता समाजवादी पार्टी जनताको बीचबाट, जनताको मुद्धा बोकेर जनताका लागि काम गर्ने उद्देश्यले होइन कि यो राजनीतिक रंगमन्चबाट भड्किएका, तड्पिएका रिटायर्ड नेताहरुको एक राजनीतिक चौतारी हो । यो चौतारी जनताको आकांक्षा पूरा गर्न होइन कि बुसेसकालमा नेताहरु विचरण, आराम गर्न खुलेको चौतारी मात्रै हो । 

कुन राजनीतिक दर्शन र विचारका आधारमा जनता समाजवादी पार्टी अघि बढ्ने छ ? यो नेताहरुको पृष्ठभूमि र बुझाई अनुसार फरकफरक देखिने छ । किनभने माओवादी जनयुद्धको रुझानबाट त्यहाँसम्म पुगेका बाबुराम र उपेन्द्रहरुमा कता कता पूर्व वामको झलक आउनेछ भने महन्थ ठाकुर र शरद सिंहरुको उपस्थितिले त्यहाँ पूर्व कांगे्रसीको छायाँ देखाउँछ । त्यसैले सैद्धान्तिक रुपमा यो खिचडी दल बन्न पुगेको छ ।

राजनीतिक दलहरु अक्सर पहिले सैद्धान्तिक अवधारणामा घनिभूत बहस र छलफल गरेर पछि संगठित रुपमा प्रकट हुन्छन् । तर जनता समाजवादी अध्यादेशबाट हुन सक्ने पार्टी विभाजनलाई रोक्नैका खातिर हतारहतारमा पहिले एकता घोषणा गरिएको र बल्ल एकताका आधार, नीति र नेतृत्वबारे बहस र छलफलमा उत्रने सुरुमा देखिएको छ । उल्टो गतिबाट जन्मिने यसको जन्मकुण्डलीकै दोषी धरातल देखिएको छ ।

समाजवादी पार्टीबाट आठ जना सांसदले नयाँ दल खोलेर सत्तारुढ नेकपामा विलय हुने प्रयास भित्रभित्रै गरिरहेका बेलामा नै यो पार्टी एकता भएको जगजाहेर छ । अध्यादेश, कानुन वा संविधानको डर त्रासले बन्ने पार्टी जनआधारित र राष्ट्रिय आवश्यक्ता पूरा गर्ने राष्ट्रिय दल बन्न सक्दैनन भन्ने यो ताजा र बलियो उदाहरण नै हो ।

तत्कालीन समाजवादी तथा राजपा दुबै क्षेत्रीय दलका रुपमा उम्रेका र उदाएका थिए । जनआन्दोलन २०६३ पछि मधेशवादका नाममा राजनीतिक पसल खोल्ने लहर अनुसार नै यी दलहरु जन्मिएका थिए । अहिले जनता समाजवादी दलको व्यानरमा यी दलले क्षेत्रीय दलको पगरी कम्तिमा नामबाट सम्म हटाएका छन् । तर, पनि राष्ट्रिय दलको समग्र चरित्रमा उदाउन यो नयाँ दललाई अझै असम्भव छ, किनभने राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी प्रभाव जमाउने नेता, नीति र संगठनात्मक संरचना यो दलमा पनि छैन, छ त केवल नयाँ बोतलमा पुरानै रक्सी ।

हुनत जनाधारका हिसावले बलिया होइनन, तैपनि राजपाबाट अनिल झा र राजकिशोर यादव यो एकताको नाटकमा प्रत्यक्ष सहभागी देखिएका छैनन् । यसको मतलव उनीहरु यो प्रक्रियाबाट रिजर्भ बसेका छन, वा भित्रभित्रै असन्तुष्ट छन् । ढिलो चाँडो यो अन्तरकलह सतहमा आउँदा यसको एकताको उद्घोषमा पार्टीभित्रैको असन्तोष पनि पोखिने खतरा छदैंछ ।

दक्षिणका दाहिना वा छायाँका रुपमा नै मधेशवादी दलहरुको उदय र विघटन हुँदै आएको इतिहास छ । देशमा राजनीतिक अस्थिरता ल्याउन विगतमा मधेशी दल एकबाट आधा दर्जन बढी दलमा विभाजित भएर सत्तालाई अस्थिर बनाएकै हुन् । अहिले केपी ओली सरकारको तुहिएको अध्यादेशलाई देखाएर यिनीहरुले राजनीतिक स्थिरताका नारा दिए पनि त्यो हात्तीको देखाउने दाँत मात्र हुनेछ । किनभने देशको माटोको रक्षाका लागि यो दल स्वतन्त्र रुपमा जनताका पक्षमा उत्रेला भन्ने अपेक्षा गोरु व्याउने आशा जस्तो मात्रै हो । त्यसैले यो वैकल्पिक शक्ति बन्दैन । 

अहिलेलाई राजनीतिक खपतका लागि एकताको डंका पिट्न र चौतारीविहिन भएका नेताहरुलाई ओत र आरामका लागि एउटा मन्चसम्म बनाएका छन् । त्यो आमरुपमा जनताका लागि खास चासोको पाटो नभए पनि तत दलका नेताका लागि भने सिजनल खुसी र सन्तुष्टिको विषय भने हो । १७ वैशाख २०७७