विश्वमा १अर्ब ६० करोड मानिसको तत्कालै जिविकोपार्जन गुम्ने खतरा

विश्वमा १अर्ब ६० करोड मानिसको तत्कालै जिविकोपार्जन गुम्ने खतरा

काठमाडौ । विश्वको श्रम बजारमा रहेको कुल कामदारको आधा १ अर्ब ६० करोड कामदारको जिविकोपार्जन तत्कालै गुम्ने खतरा उत्पन्न भएको संयुक्त राष्ट्र संघीय नियोग अन्तर्राष्ट्रिय श्रम संगठनले (आइएलओ) चेतावनी दिएको छ ।

यो खतरा कोरोनाभाइरसले विश्व अर्थतन्त्रमा पारेको असरले उनीहरूको जिविकोपार्जन गुम्ने खतरा बढेको हो ।

आइएलओले हालै तयार पारेको नयाँ प्रतिवेदनमा कोरोनाभाइरसको महामारीले वित्तीय क्षेत्रमा पारेको असरले अनौपचारिक अर्थतन्त्रका कामदार, स्वउद्यमी र अल्पकालीन करार रोजगारी गर्ने कामदारको रोजगार प्रभावित भएको उल्लेख गरेको छ ।

आइएलओले विश्वभरको अनौपचारिक क्षेत्रका कामदारहरूको आम्दानी एक महिनाको संकटले गर्दा ६० प्रतिशतले घटेको अनुमान गरिएको जनाएको छ ।

विश्वभरका ४३ करोड ६० लाख व्यवसायमा वित्तीय संकट गहिरिन पुगेको र सम्भवतः बन्द हुने अवस्थामा पुगेको छ । यसले कामदारहरूको रोजगारमा सीधा असर पार्ने छ । प्रतिवेदनमा सर्वाधिक समस्यामा परेका क्षेत्रहरूमा उत्पादनमूलक क्षेत्र, खाना सेवा , थोक र खुद्रा व्यापार र घरजग्गा कारोबार क्षेत्र रहेका छन् ।

करोडौं मजदुरका लागि आम्दानी नहुनु भनेको खाना नहुनु , कुनै सुरक्षा र भविष्य नहुनु हुने गरेको आइएलओका महानिर्देशक गु रेडरले भनेका छन् ।

सरकारहरूले यस्तो समयमा अर्थतन्त्रको सही बुझाइ र सही निर्माण गर्न नसके यो महामारीले गर्दा गरिबी रेखामुनी जानेहरूको संख्या धेरै ठूलो हुने उनले चिन्ता व्यक्त गरे । 

चीनमा कोरोनाभाइरस पहिलो पटक देखा परेयता विश्वभर ३१ लाख बढी मानिसमा संक्रमित भइसकेको र २ लाख १६ हजार बढी मानिसको मृत्यु यो भाइरसबाट भाइसकेको छ ।
कोरोनाभाइरसबाट बच्न विश्वभर बन्दाबन्दीको स्थितिले विश्वको आर्थिक गतिविधि पनि बन्द रहेको छ ।