विद्यमान पार्टी संघर्षमा वादल लाइन

विद्यमान पार्टी संघर्षमा वादल लाइन

रवि किरण 

१. केही समयदेखि नेकपाभित्र चलिरहेको घमासान बहस, छलफलमा गृहमन्त्री रामबहादुर थापा वादलको भूमिकाबारे चौतर्फी प्रश्न, जिज्ञासा, आलोचना र आरोपका अनगिन्ती झटाराहरु बर्सिएका छन् । खासगरी प्रम केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच केही समयदेखि चलेको भीषण दुर्ई लाइन संघर्षमा वादललाई आआफ्नो कोटरीमा राख्न दुवै पक्षबाट जोडतोड़ पहल चलिरहेको प्रष्ट देखिन्छ ।

कम बोल्ने देश, जनता र नेतृत्वको पक्षमा 'लुरुलुरु गोरु जसरी जोतिने', चकाचौध प्रचारमा एकरत्ति पनि विश्वास नगर्ने वादल यी सबै प्रश्नमा के सोंचिरहेका होलान त ?

२.  वादल व्यक्ति नभएर एउटा प्रवृतिका रुपमा विकास भइसकेको पात्र हो  । यो प्रवृतिलाई केपी वा प्रचण्डको अनुयायी र समर्थकका रुपमा हल्का टिप्पणी भएको र अहिले सोही अनुसार दैनिक समाचार बनाएर सनसनी मच्चाएको सुन्दा र पढ्दा  बडो आश्चर्य हुन्छ । यसमा अझ बढी मलजल दुवै तर्फका कार्यकर्ताहरुले दिनहुँ सामाजिक संजालमा एकोहोरो बढाइरहेका छन्  ।
 
३. अहिले वादल पार्टीमा देखिएको यस प्रकृतिको तिक्त अन्तरसंघर्षबाट असन्तुष्ट मात्र होइन यसको घोर विरोधी छन् । पार्टी  एकताको प्रक्रिया पूरा नभइसकेको अहिलेको जटिल संक्रमणकालमा अन्तरसंघर्ष चलाउनु कुनै पनि हालतमा सही सोचाइ होइन  । अहिले पार्टी एकतालाई पूर्णता दिनु र सम्पूर्ण क्षमताका साथ कम्युनिष्ट सरकारलाई सफल बनाएर समाजवादतिर फड्को हान्ने काम गर्नुपर्दछ ।

४. पार्टी एकता  गर्दैगर्दा निर्माण गरेको विचार र राजनीतिक कार्यदिशा र तदनुरुप संगठनात्मक संरचनामा आधारभूत हेरफेर गर्न खोज्नु आत्मघाती हुन्छ्र । पार्टीमा अहिले वैचारिक बहस छैन । पार्टी एकता गर्दा सहमतिमा बनाइएको विचार र राजनीति नै नेकपाको आधिकारिक वैचारिक राजनीतिक लाइन हो र यसलाई  अहिलेसम्म वैधानिक रुपमा कुनै पक्ष र प्रवृतिले चुनौती दिएको छैन । आगामी महाधिवेशन पूर्व हुने वैचारिक बहसमा वैज्ञानिक समाजवाद निर्माण गर्न नयाँ अन्वेषण विचार, राजनीति र संगठनको क्षेत्रमा गर्नु पर्छ भन्ने प्रष्ट बिचार र दृढ अडान देखिन्छ । यसका लागि विगतका सबै सकारात्मक विचार, राजनीति र प्रवृतिलाई आत्मसात गर्ने गर्नुपर्दछ । विज्ञान र सत्यलाई अगाडि राखेर महान अन्वेषण गर्न विगतका सबै पूर्व समूहका चिन्तन र मनोविज्ञानलाई ध्वस्त पार्नुपर्दछ ।  यही क्रममा गलत र अवैज्ञानिक विचार आउँछन र यसरी सही र गलतका बीचमा दुई लाइन संघर्ष बन्छ । सबै इमान्दार र क्रान्तिकारी नेता कार्यकर्ताहरुले यस्ता महान बहसमा सक्रियतापूर्वक भाग लिनुपर्दछ र क्रान्तिकारी विचार राजनीति र नेतृत्त्वको पक्षमा दृढतापुर्वक उभिनु पर्छ ।
 
५ .अहिले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले नेपालमा कम्युनिष्ट पार्टी एक भएको देखिसहेका छैनन्  । झन् दुई तिहाईको नजिकको कम्युनिष्ट सरकार निर्माण भएको त असह्य भइरहेको छ । यसलाई विघटन गर्न केही समयदेखि पूरै शक्तिका साथ लागिपरेका छन् । यो सरकार र पार्टीलाई विघटन र फुट पैदा गर्न सकिएको खण्डमा नेपालमा लामो समयसम्म कम्युनिष्टको राजनीति उठ्दैन भन्ने षड्यन्त्रका साथ् योजनाबद्ध भूमिका बढाइरहेको प्रष्ट देखिन्छ ।
 

यसका लागि पुँँजीवादी साम्राज्यवादीहरुले 'साम दाम दण्ड भेद' सबै हथकण्डा अपनाइरहेको छ । पार्टीभित्रको सामान्य बहस र मतभेदलाई पनि शत्रुतापूर्ण स्तरमा विकास गर्न लागिपरेका छन् ।
 
६. सरकार र पार्टीको यति भब्य र शान्दार अवस्थितिलाई देश, जनता र वर्गको सेवामा अधिकतम प्रयोग गर्न सिपालु बन्नैपर्दछ । यसको लागि प्रथम र महत्वपूर्ण विषय भनेको कम्युनिष्ट पार्टीभित्रको मजबुत एकता हो । अहिलेको अवस्थामा यसलाई हासिल गर्ने भनेको निरन्तर संवाद हो । एक अर्काको हितहरुको अधिकतम संबोधन हो । पार्टीभित्रका विभिन्न प्रवृति र क्षमताहरुको  विना पूर्वाग्रह न्यायोचित कार्यविभाजन हो । सरकार, पार्टी र विभिन्न नियुक्तिहरूमा सबै प्रवृतिहरुलाई समान र सम्मानजनक कार्यविभाजन गर्नु हो ।

७. तर, पार्टीमा एकमनावाद र  नोकरशाही कार्यशैली, दम्भ, हेपाहा प्रवृति  विकास भइरहेको छ । विभिन्न प्रवृतिहरुलाई नजिक ल्याएर एक अर्काको पुरक बनाउने भन्दा पनि एउटा प्रवृतिले अरु सबैलाई निषेध गर्ने नोकरशाही प्रवृति विस्तारै हावी हुँदै गएको छ । यो कुनै अमुक गुट र व्यक्तिमा भन्दा पनि मौका पर्दा सबै पूर्व समूह र ठूला नेताहरुले प्रयोग गर्दै आएका छन् । अहिले मुख्य जिम्मेवार केपी र प्रचण्ड दुवैमा धेरथोर देखिन्छ । यसको अन्त्य हुनुपर्दछ ।

८ समय छ, अझै केही बिग्रिएको छैन । पार्टीका सबै इमान्दार नेता, कार्यकर्ताहरुले अहिले गलत बाटो समाएको नेकपाभित्रको बहसमा क्रान्तिकारी हस्तक्षेप गर्न आवस्यक परेको छ ।

अहिले टुटफुट र एक अर्कालाई निषेध गर्ने सोचाइ बिल्कुलै गलत छ । पार्टीलाई बिघटनबाट बचाउन नेतृत्त्वले विगत केही समयदेखि अवलम्बन गर्दै आएको कार्यशैलीलाई सच्याउनुपर्दछ । उत्तेजना र उक्साहटबाट बचेर पार्टीलाई फुटबाट बचाउनुपर्छ । गुण र दोषका आधारमा आफ्नो विचार राख्ने र निरपेक्ष एकातिर लागेर स्थायी गुट निर्माण गर्नु हुन्न ।  

९ अहिले पार्टी बैठक चलिरहेको छ । समस्या पूरै हल गर्न नेताहरु सफल नभए कार्यकर्ता र जनतामा जान हिच्किच्याउनु हुन्न । यसको लागि स्थायी समिति र केन्द्रीय समितिको बैठक आयोजना गर्नुपर्छ । आवस्यक पर्यो भने रास्ट्रिय भेला डाकेर जनताको आवाजबाट आफूलाई रुपान्तरण गर्नुपर्छ । अहिले फुट होइन, एकता र रुपान्तरणलाई मुख्य प्रस्थानविन्दु बनाइनुपर्छ । १८ वैशाख २०७७