नारा सबैका ‘समृद्ध नेपाल’, पार्टी किन फरक ?

नारा सबैका ‘समृद्ध नेपाल’, पार्टी किन फरक ?

फणीन्द्र फुयाल 

अन्ततः देश बिखण्डनको माग राख्दै हिँड्ने डा सिके राउत पनि शुक्रबारदेखि राजनीतिको मूल धारमा आएका छन् । उनले संविधानमा उल्लेख गरिएको ‘नेपाल अखण्ड, अभिभाज्य मुलुक हो’ भन्ने बुँदालाई हस्ताक्षरमार्फत स्वीकार गर्दै गृहमन्त्री रामबहादुर थापा बदलसँग ११ बुँदे सहमति गर्दै मूलधारको शान्तिपूर्णं राजनीतिमा आएको घोषणा गरेका छन् ।

डा. राउतले ११ बुँदे सहमतिको दोस्रो बुँदाको व्याख्या गर्दै अब आफ्ना मागहरुको समाधान जनमत संग्रहबाटै गर्नका लागि राज्य तयार रहेको दाबी पनि गरेका छन् । तर उनले आफ्नो भाषणमा नेपाल राष्ट्रको अखण्डताप्रति कुनै प्रतिवद्धता जनाएनन् बरु आफूहरुले समृद्ध देश बनाउन चाहेको बताए ।

अहिले ‘समृद्ध देश नेपाल’ बनाउने भन्ने नेपालका सबै राजनीतिक दलको मीठो नारा बनेको छ । समृद्ध देश बनाउने भन्ने नारा नेकपा र त्यसले नेतृत्व गरेको दुई तिहाइ सरकारको त छँदैछ । त्यो ‘फेशनेवल’ नारालाई आफ्नो मूल मन्त्र बनाउने दलहरुमा नेपाली काँग्रेस, संघीय समाजवादी फोरम, नयाँ शक्ति, विवेकशील, विवेकशील साझा, सबै राप्रपाहरु, र अन्य झिना मसिना क्षेत्रीय र जातीय पार्टीहरु छन् । 

आखिर देशलाई सबैले समृद्ध नेपाल नै बनाउने नैं रहेछन् त किन खोल्नु प¥यो भिन्ना भिन्नै दल ? कि समृद्ध नेपाल निर्माण गर्छु भन्ने पार्टीको नारा उनीहरुको हात्तीको देखाउने दाँत जस्तै हो ? यदि यस्तो हो भने भित्री माग र मुद्धा त अर्कै छ । बाहिर ‘समृद्ध नेपाल’ को कार्ड फ्याँकिएको मात्रै
हो भन्ने कुरा स्पष्टसँग जनतामाझ भन्न सक्नु प¥यो । होइन भने ‘समृद्ध नेपाल’ को यति राम्रो नारा, मार्गदिशा, र एजेण्डाभित्र किन यत्रो राजनीति, किन यत्रो रडाको ?

कि त हरेक दलले आफ्नो समृद्ध नेपालको परिभाषा फरक फरक तरिकाले पुष्टि गर्नुप¥यो । होइन भने सबै नेपाली जनताले चाहेको पनि त्यही सृमद्ध नेपाल नैं हो र सबै राजनीतिक दलले नेपाललाई दिन  चाहेको पनि त्यही समृद्धि नै हो भने आखिर सबै दलका नेताहरु किन पार्टी एकता गरेर एउटै बनाउन सक्दैनन् ? पार्टी फरक हुनलाई त फरक सिद्धान्त हुनुपर्छ, फरक अवधारणा हुनुपर्छ र फरक सोचाई हुनुपर्छ ।

आखिर जनताको माग पनि समृद्ध नेपाल र हरेक राजनीतिक दलको एजेण्डा र नारा पनि समृद्ध नेपाल नै भएपछि दलहरु किन धेरै चाहियो ? सबै नेता, सबै पार्टी र सबै जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, गास, बास, कपास र समानताको सुनिश्चितता चाहेको हो र सबै त्यसप्रति प्रतिबद्ध भई सबै दलको नारा नै एकै भएपछि किन चाहियो धेरै पार्टी, किन चाहियो धेरै दल ? अलग पार्टीको पसल खोलेर नेता बनिरहन ? त्यसैले प्रश्न गर्न मन लाग्छ नारा सबका ‘समृद्ध नेपाल’ पार्टी किन फरक ?