धरौटीमा छुटेका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ 

धरौटीमा छुटेका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ 

काठमाडौं, १८ वैशाख । स्वास्थ्य सामग्री कालो बजारी गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । कालो बजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी अग्रवाललाई प्रहरीले छुटेलगत्तै पक्राउ गरेको हो ।

अग्रवाल जिल्ला अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहर भवनमा पठाइने उनले बताए । 

कोरोना भाइरसका कारण देश लकडाउनमा भएका बेला चीनबाट ल्याइएको थर्मोगनलाई बढी मूल्यमा बेचेपछि उनलाई प्रहरीले चैत २५ गते पक्राउ गरेको थियो । उनले ३ हजार पर्ने थर्मोगनलाई १५ हजारमा बेच्ने प्रयास गरेका थिए ।