‘लकडाउन’मा पहिलो अन्तर्राष्ट्रिय मजदुर दिवस
काठमाडौ । विश्वका मजदुरहरूलाई पहिलो पटक अन्तर्राष्ट्रिय मजदुर दिवस वा मे दिवस लकडाउनमा मनाउन परेको छ ।
१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका बेला विश्वको ठूलो हिस्सामा कोरोनाभाइरस कोभिड–१९महामारीका कारण ‘लकडाउन’को अवस्था छ ।
विश्वका नेताहरू, राष्ट्रप्रमुख , सरकार प्रमुखले शुभकामना दिने क्रममा यस अवसरमा नेकपाका अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सु–स्वास्थ र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्र्रचण्डले जारी गरेको विज्ञप्तिमा सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिएको अवसरमा आफूलाई जनताको बलिदानी संघर्षमा गर्व भएको उल्लेख गरेका छन् ।
नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि जनताको बलिदानीपूर्ण संघर्षलाई हामी गर्वका साथ मे दिवसको स्मरण गर्ने गरेको प्रचण्डले भनेका छन् ।
आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ ।
यस विषयमा चिन्ता व्यक्त गदै प्रचण्डले सरकारलाई विशेष ध्यान आग्रह गरेका छन् । उनले भनेका छन् “ दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।”
देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य हामी सबैको हो भन्दै प्रचण्डले कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
विश्वभर अनौचारिक क्षेत्रमा कार्यरत श्रमिकरूको रोजगारी गुमाउनेहरूको संख्या १ अर्ब ६० हुन सक्ने आइएलओको नयाँ अनुमान रहेको छ।
आइएलओले पनि विश्वका सरकारहरूसँग यस विषयमा विशेष ध्यान दिन आग्रह गरेको छ ।
प्रतिक्रिया