केन्यामा बच्चाको मन भुलाउन आमाले ढुंगा पकाइन !

केन्यामा बच्चाको मन भुलाउन आमाले ढुंगा पकाइन !

एजेन्सी, वैशाख १९ । मान्छेले ढुङ्गा पकाएको बारेमा हामीले कथामा सुन्दै आएका थियौँ तर केन्यामा भने वास्तविक जीवनमै यस्तो घटना घटेको छ । 

कोरोना भाइरस (कोभिड १९) सङ्कटका कारण केन्यामा गरिबीसँग जुधिरहेकी एक महिलाले बच्चाको मन भुलाउनका लागि ढुङ्गा पकाएको नाटक गर्नुपरेको छ । 

आठ बच्चाकी ती महिलाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना निरक्षर र विधवा छिन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र बच्चाको गुजारा गर्थिन् तर कोरोना भाइरस सङ्क्रमण फैलिएपछि उनको काम ठप्प भएको छ । 
पेनिनाको लागि गरिबी र मुस्किल यति बढेको छ कि अहिले आफ्ना बच्चालाई खुवाउन केही पनि छैन । यस कारण उनले बच्चाहरुलाई भुलाउनको लागि ढुङ्गा पकाउन थालिन् । केही पाकेको देखेपछि बच्चाहरु पर्खाइमा सुत्ने पेनिना सोच्छिन् । 

उनकी एक जना छिमेकीले बच्चाहरु रोएको आवाज सुनेपछि के भएछ भनेर त्यहाँ पुगेकी थिइन् । एक जना छिमेकीले भिडियो नै बनाएर सामाजिक सञ्जालमा यसबारेमा बताएकी छिन् । 

पेनिनाको कहानी सुनेर मानिसहरुले उनका लागि रकम जम्मा गरे र पूरै केन्याबाट फोन आउन थाल्यो । पेनिनाकी एक जना छिमेकीले उनको बैंकमा एकाउन्ट खोलिदिइन्, जसको माध्यमबाट पेनिनाले रकम प्राप्त गरिन् । 

केन्याका मानिसहरु यति दयालु हुन्छन् भनेर नसोचेको पेनिना बताउँछिन् । उनी यो सबै ‘एक चमत्कार’ मान्छिन् । उनले भनिन्, ‘म ढुङ्गा पकाएर उनीहरुलाई भुलाउने प्रयास गर्दैछु भनेर बच्चाहरुलाई थाहा थियो । तर मसँग योबाहेक अरु विकल्प थिएन ।’ 

केन्यामा तीन सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १९ जनाको ज्यान गएको छ ।