कृषि क्षेत्र राज्यको प्राथमिकतामा किन परेन ?

कृषि क्षेत्र राज्यको प्राथमिकतामा किन परेन ?

  आदित अजात 

विषय प्रवेश

नेपाल कृषि प्रधान मुलुक भनेको सुन्दासुन्दै प्रायः नेपालीको कान पाकेर झर्ने बेला भइसक्यो तर राज्यको योजना र प्राथमिकता कृषि कहिले नै भएन । राज्यको तर्फबाट कृषिमा धेरै अनुदानको व्यवस्था पनि गरिन्छ तर त्यो टाठाबाठाको पहुँचमा मात्र हुने देखियो । भूकम्प पीडितलाई बाँडिने जस्ता पातामा अर्थमन्त्रीको भाग छुट्याउनु पर्ने हाम्रो देशमा ठूलो अपेक्षा गर्नु नै निरर्थक होला तर सामान्य केही सुधारको अपेक्षा दुई तिहाइको बामपन्थी सरकारबाट जनताले गरेका छन् । प्रायः सबै नेपाली परिवार कृषिमा प्रत्यक्ष वा अप्रत्यक्ष निर्भर रहेको छ तर पनि जनस्तरमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर केही काम भएको पाइएन । यसमा मुख्य कारण राजनीतिलाई नै दोष लगाउनुपर्छ । सामन्ती उत्पादन सम्बन्धले जकडिएको देश पुजिँवाद हुँदै समाजवादमा जाने घोषणा गरियो, हिजो कृषिबाट नाफा लिइरहेको ठूलो पंक्ति अहिले जग्गा खण्डीकरण, श्रम बजारमा मानव ओसारपसार र अन्य तस्करीको बाटोबाट आर्थिक उपार्जनमा लाग्यो । कृषि क्षेत्रमा न राज्यले नै ध्यान दिन चाह्यो न त जनस्तरमा नै यसलाई महत्व दिइयो । कृषि पेशा नै सबैभन्दा दुत्कारिएको पेशाको रुपमा हेरिन थालेको छ । परिवारको एक जना स्वदेशमा वा विदेशमा कुनै पनि सानो रोजगारीमा टाँसिएको भए शहरमा गएर डेरामा बस्ने तर मकै भाँच्न, धान गोड्न गाउँ नजाने परिपाटी विकास भयो । यसले समाजका अन्य धेरै विकृति र अपराधको शृङ्खलामा मात्र बढाउने देखियो । यस सम्बन्धमा केही चर्चा गरौं । 

कृषिको वर्तमान अवस्था

आम किसानले रगत पसिना गरेर उब्जाएको अन्नद्वारा हाम्रो पेट भर्न पाइएको छ । तथ्यांकहरु नियाल्ने हो भने विश्वको ४५ प्रतिशत जनसंख्या ग्रामीण भू–भागमा बस्ने गर्दछन् र अभाव र गरिबीका बीच विश्वलाई आवश्यक पर्ने ५० प्रतिशत कृषि उपज तिनै ग्रामिण किसानहरुले उत्पादन गर्दछन् । तर दुर्भाग्य भन्नुपर्छ कृषि उपज उत्पादन गर्ने किसानमध्ये ५० प्रतिशत भोकमरीमा बाँच्न बाध्य छन् । दिनरात खेती किसानीमा बिताउने र आफैंले उत्पादन गर्ने अनाज तिनै किसानको पहुँच भन्दा बाहिर रहेको विश्व खाद्य संगठन लगायत विभिन्न आधिकारिक संस्थाहरुले संकलन र विश्लेषण गरेको तथ्यांकले बताउँछ । कृषि उपज उत्पादनमा लाग्ने लागत, गरिवी र अभावका बीच सस्तो मूल्यमा व्यापारीलाई आफ्नो उत्पादन बुझाउन बाध्य किसान आफैंले उपभोग गर्ने बेला आफ्नो भकारी रित्तिएको पाउँछ । पुँजीवादले आफ्नो संक्रमण बढाउँदै गर्दा यस्ता परिघटना देखिएको छ ।

वर्तमान समाज

पशुपती शर्माको मलाई जापान नै यहीँ, अमेरिका पनि यहीँ भावको गीत निकै चर्चित भयो । त्यस गीतले कृषि पेशाप्रति सकारात्मक संचार गर्ने प्रयास ग¥यो होला, तर कृषि पेशा हिजोआज कमैको प्राथमिकताको क्षेत्र रह्यो । कृषक भएर जिउन कत्तिको पीडादायी छ भन्ने केही प्रतिनिधिमुलक घटना अध्ययन गरे मात्र पुग्छ । हालसालै संचारमाध्यममा खैरहनी नगरपालिकाकी इन्दिरा भुसाल लगायतका बन्दा किसानहरुकोे पीडा त पोखियो तर एकाएक तिनीहरु सेलिब्रेटी नै भए । संचारमाध्यममा अन्तर्वार्ता लगायतको वर्षा नै भयो । अझ अर्काे उदाहरण झन् रोमाञ्चक छ । केही समय पहिले तरकारी वालीको उपनाममा चर्चित कुसुम श्रेष्ठ यत्ति चर्चित भइन् कि उनि पछि सिनेमाको नायिका नै बनिन् । एक भारतीय पत्रकारले खिचेको तस्विर एकाएक भाइरल भयो । वास्तविक समस्या समुल नष्ट भन्दा पनि हामी सतही कुरालाई लिएर सामाजिक संजाल तताइ रहेका हुन्छौं । कसैलाई बिना कारण प्रशंसा गर्छाैं भने कहीलाई बिना कारण रसातलमा पु¥याउने गर्दछौं ।  केही समयलाई कसैलाई नायक बनायो तर समस्या जहाँको त्यहीँ रहने युग चलिरहेको छ । त्यसमा क्रमभंग हुन जरुरी छ ।

वैदेशिक अनुदान र त्यसको प्रभाव

विगतदेखि नेपाल विदेशीहरुको राजनैतिक क्रिडास्थल रह्यो । अन्य क्षेत्रहरुमा झैं कृषिको क्षेत्रमा पनि विदेशीहरुकै चाहनामा नीतिहरु बने र तिनै योजनाहरु लागू भए । नेपालमा आर्थिक तथा राजनैतिक व्यवस्थासँगै वैदेशिक हस्तक्षेप पनि कृषि धरासायी बनाउन सहायक रह्यो । इतिहासमा प्रत्यक्ष कहिले पनि उपनिवेश नभएको नेपाल अप्रत्यक्ष रुपमा धेरैले शासन गरे । राजनैतिकदेखि कृषि, स्वास्थ्य लगायत विभिन्न क्षेत्रको प्रयोगशालाको रुपमा प्रयोग भइराख्यो । यसको पनि ठूलो प्रभाव नेपालको कृषि क्षेत्र विकास नहुनुमा रह्यो । अन्य क्षेत्रमा झैं कृषि क्षेत्रमा पनि परनिर्भर भएको अन्तर्राष्ट्रिय क्षेत्र हेर्न चाहन्थ्यो । त्यसैले सोही अनुरुपका कृषि नीतिहरु तर्जुमा हुँदै गए र नेपाल झन् झन् बर्बादी तर्फ लम्कँदै गयो ।

नेपालको कृषि क्षेत्रमा परनिर्भरता बढ्दै जाँदा यहाँलाई आवश्यक पर्ने मलखाद, बिउ, विषादी लगायतको आपूर्ति गर्ने बहुराष्ट्रिय कम्पनीका लागि यो देश दुहुनो गाईको रुपमा रह्यो । बिउदेखि मलखाद र विषादी आपूर्ति गर्दा पनि उत्पादकत्वमा कुनै सकारात्मक परिणाम नआउँदा खाद्यान्न पनि आपूर्ति गर्ने राष्ट्रको रुपमा नेपाल रहेको छ । सबै क्षेत्रमा जर्जर बन्दै गइरहेको नेपालको सुन्दर भविष्य परम्परागत कृषि, पर्यटन र यहाँ रहेको प्राकृतिक श्रोतको समुचित प्रयोगबाट सम्भव रहेको विभिन्न स्वतन्त्र अध्ययनबाट देखिएको छ । तर पनि दृढ इच्छा शक्ति पनि नभएका र गुलामी प्रवृत्ति भएका व्यक्तिहरुको कब्जामा हिजो कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका रहेको थियो । भ्रष्टाचार गर्ने र सात पुस्ताको लागि पुग्ने रकम जोड्ने, राष्ट्र प्रमुखको हैसियतमा अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा सुरा र सुन्दरीको जालमा फसेर देशको बदनाम गर्ने प्रवृत्ति मात्र हावी भयो । भू–माफिया, तस्कर र बहुराष्ट्रिय कम्पनीहरुको प्रभावमा परेर काम गर्ने तर वास्तविक किसानको हकमा कुनै पनि काम नगर्ने मात्र देखियो । 

कृषि अनुसन्धान केन्द्र र विश्वविद्यालय

विश्वभर जुनसुकै देशले कृषि क्षेत्रमा गरेको विकास त्यस देशले कृषिको अनुसन्धानमा गरेको लगानी र त्यसका लागि त्यस देशका कृषि विश्वविद्यालयको भूमिका अहम् रहेको पाइन्छ । अमेरिका, युरोप, चीन र भारत समेत यस सम्बन्धमा उदाहरण रहेका छन् । तर, नेपालको हकमा यो क्षेत्र पनि निराशाजनक रहेको छ । नेपालको कृषि अनुसन्धान बाहिर विकास भएको प्रविधिको नक्कल गर्नेमा नै सीमित रह्यो भने विश्वविद्यालय युएसएड लगायत अमेरिकी तथा युरोपियन विश्वविद्यालयहरुको प्रत्यक्ष प्रभावमा पश्चिमा देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने तालिम केन्द्रमा सीमित रह्यो । नेपाल सुहाउँदो प्रविधि विकास गर्ने र नेपाललाई आवश्यक जनशक्ति तयार गर्न न कृषि अनुसन्धान केन्द्र न त विश्वविद्यालयले उल्लेख्य काम ग¥यो । न त यसमा राजनैतिक नेतृत्वले त्यसको आवश्यकता महसुस ग¥यो । तत्कालीन राजनैतिक नेतृत्व आ–आफ्ना निर्वाचत क्षेत्रमा केहीँ प्याकेट तरकारीका बिउ बाँड्ने र तारे होटलमा बैठक र छलफल आयोजना गर्ने र चन्दा र कमिशनको चक्करमा मात्र दौडिरह्यो । त्यसैले समग्र राज्यको ध्यान कृषिको विकासमा कहिले पनि रहेन । २००७ सालदेखि आजसम्म आउँदा कुनै पनि सकारात्मक पहल देखिएन । 

उपसंहार

समग्र रुपमा राज्यको प्राथमिकता कृषि क्षेत्रमा नपर्नुका कारण राजनैतिक इच्छाशक्तिमा कमी रहनुलाई नै मान्नु पर्दछ । प्राकृतिक सम्पदाको धनी देश भएकाले हामीले कृषि र जैविक विविधतालाई वरदानको रुपमा मात्र लियौं । यसको विकास र संरक्षणमा हाम्रो उचित ध्यान परेन र आवश्यता पनि ठानिएन । केही वर्षअघि हाम्रो जस्तो अवस्था रहेको इजरायलले कृषिमा फड्को नै मा¥यो तर नेपालले हिजोको शाख पनि गुमायो । हिजो धान लगायत अन्य अन्न, तरकारी तथा फलफूल निर्यात गर्ने मुलुक अहिले ठुलो मात्रामा आयात गर्ने मुलुकको रुपमा दर्ज भएको छ । ठूलठूला औद्योगीकरण गर्ने, मुलुकलाई सिंगापुर र स्वीट्जरल्याण्ड बनाउने सपना देखाइयो तर हिजो जलश्रोत, पर्यटन र कृषि क्षेत्रमा हुनुपर्ने साधारणदेखि साधारण काम पनि हुन सकेन । यो वास्तविकतालाई सहर्ष स्वीकार्नु पर्दछ । धेरै समय नेपालमा राजनैतिक अस्थिरता रह्यो, त्यस कारण कमजोरी भयो भन्न सकिने अवस्था छ तर अब त्यो छुट दिनु हुदैँन । समृद्ध नेपालको सपना पूरा गर्न कृषि क्षेत्रको समुचित विकास अनिवार्य छ ।