एमसीसी इन्डो–प्यासिफिककै अंग : नेकपा कार्यदल
काठमाडौं । सत्तारुढ दल नेकपाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले इन्डोप्यासिक स्ट्राटेजी (हिन्द प्रशान्त रणनीति) कै अंग भएको निश्कर्ष निकालेको छ ।
यस कार्यदलकामा रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा एमसीसी सम्बन्धी ११ बुँदा संशोधन गर्न भनेको छ । प्रतिवेदनको बुँदा नम्बर १४.६ अनुसार, ‘अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको देखिन्छ भने यि सबै रणनीतिको अंगको रुपमा एमसीसी अन्तर्गतको कार्यक्रम सञ्चालन गरिएको देखिन्छ ।’ ‘एमसीसीको कार्यक्रम आर्थिक योजनासंग सम्बन्धित देखिए पनि यो अमेरिकी सरकारको सुरक्षा लक्ष्य र कार्यक्रमसंग घनिष्ट रुपमा जोडिएको देखिन्छ’ कार्यदलले प्रतिवेदनमा भनेको छ । कार्यदलले एमसीसी अन्तर्गत नेपाललाई प्राप्त हुने अनुदान अमेरिकी सामरिक र रणनीतिक लक्ष्य अन्तर्गत हिन्द प्रशान्त रणनीतिसंग सम्बन्धित नभएको र नहुने कुरा सुनिश्चित हुनेगरी नेपाल र अमेरिकाका बीच औपचारिक पत्राचारद्वारा प्रष्ट गर्न सुझाव समेत दिएको छ ।
‘कुनै पनि सैनिक वा राजनीतिक शक्ति गठबन्धनमा सामेल हुने वा कसैको सुरक्षा छाता अन्तर्गत रहने कुरा नेपालको संविधान तथा नेपाल कम्युनिष्ट पार्टीको नीति र सिद्धान्तअनुसार अमान्य छ’ प्रतिवेदनमा भनिएको छ ।नेकपाले गठित कार्यदलले १६ बुँदे सुझावमा एमसीसीलाई जस्ताको तस्तै पारित गर्न नहुने निष्कर्ष निकालेको छ । उसले बुँदागत रुपमा उक्त ब्यहोराहरु संशोधन गर्नुपर्ने बताएको छ ।
यसै कार्यदलका सदस्य एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने फरक मत जाहेर गरेका छन् । उनले प्रतिवेदनमा १५ बुँदे फरक मत राखेका छन् । एमसीसीको विषयमा अतिरञ्जित प्रचार भएको फरकमतको निश्कर्ष छ ।
१५–१९ माघ २०७६ मा काठमाडौंमा सम्पन्न नेकपा केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले कार्यदल गठन गरेतापनि कार्यदलले ढिलो गरी प्रतिवेदन तयार पारेको हो।
प्रतिक्रिया