कोरोनाले उल्ट्याएको मानव जीवनको परिभाषा र दृष्टिकोण
भिक्षु आनन्द
विकासको नाममा मानिसलाई भौतिक प्राणी र यान्त्रिक प्राणीको रुपमा दिएको गलत परिभाषा कोरोनाले उल्ट्याइ दिएको छ ।
“मानव” जीवनको परिभाषा २१ शदी पुग्दा अति व्यस्त, अति धावनकारी जीवनशैली अपनाउने आर्थिक-मानव, भौतिक-मानव, व्यापारी-मानव, यान्त्रिक-मानव हुँदै रोबोट-मानवको रुपमा परिभाषित हुँदै गएको छ । यस्तो अवस्थामा एउटै परिवारका सदस्यहरुबीच लामो समयसँगै बस्न, भेटघाट गर्न, खान बस्न, दुःखसुख बुझ्न समेत आज मानिस बेफुर्सदिलो छ । घण्टौ काममा अति ब्यस्त जीवनले आफूले आफूलाई संसारबाट अलग एउटा कोठामा सीमित एकलकाँटे प्राणीको रुपमा परिभाषित गरिदिएको छ ।
मानिसको यस्तो अवस्था हुनुमा “मानव“ शब्दलाई मानसिक प्राणी, अध्यात्मिक प्राणी, मनोवैज्ञानिक प्राणीभन्दा पनि भौतिक प्राणी, बाणिज्य प्राणीको रुपमा तथाकथित आधुनिक तथा भौतिक विकासका चिन्तकहरु, अर्थविदहरु तथा शिक्षाविदहरुले परिभाषित गर्दा जसरी भए पनि पैसा कमाउनु पर्ने बाध्यता वा होडमा होमिरहेका छन् आज मानिसहरु । देश, परिवार, आफन्त, इस्ट-मित्र,नाता-कुटुम्ब, मानवता हत्याएर पैसा कमाउने होडको यान्त्रिक जीवनमा हाम्फालेका छन् । एकातिर नाफामुलक उत्पादन कार्यमा मानिसले बढी भन्दा बढी घण्टा काम गर्नुपर्ने, एकले अर्कोलाई पछार्दै अगाडि जानुपर्ने प्रतिस्पर्धात्मक खुल्ला बजार नीतिको आर्थिक कारोबार र अर्कोतिर सत्ता, शक्ति र पदको लागि “नैतिकता र मानवता भाँड मे जाए“ भन्ने आर्थिक राजनीतिक साेंच हावी भएको स्थिति छ । त्यसैले पैसा कमाउन देशको हजारौ युवा वर्ग विदेशिने र लास भएर कफीन बाकसमा फर्किने कहाली लाग्दो घटना देशको यथार्थ एकातिर छ भने अर्कोतिर रातारात सत्ता पल्टाउने र आफ्नो कुर्सी बचाउने खेलमा राजनैतिक दलहरु व्यस्त छन् ।
भौतिक विकासले मानसलाई अति सुखोपभोगी जीवन एकातिर दिएको छ भने अर्कोतिर ओच्छ्यानमा सुत्न जाँदा स्लिपिंग ट्याब्लेट लिनुपर्ने बाध्यता छ । युवा पिंढी २१औ सदीको आधुनिक उत्कृस्ट शिक्षा दीक्षा, तालिम पाएर पनि लागूपदार्थ, नशालु पदार्थ, आपराधिक क्रियामा संलग्न छन् । युरोप र अमेरिकामा १९६०/ ७० तिर भौतिक विकासबाट वाक्कदिक्क भएर युवा जमात परम्परागत संस्कृतिबाट विचलन भएर हिप्पी (Hippy) र पंक्स (Punks) जस्तो विकृति संस्कृतिको जीवनशैली अपनाउन बाध्य भएका थिए- यान्त्रिक-जीवनबाट मुक्त स्वतन्त्र र स्वछन्द जीवनको खोजीमा..! नेपालमा पनि यसको प्रभाव १९७० दशकतिर देखापरेको थियो र अति भौतिक र यान्त्रिक जीवनको उकुसमुकसबाट मुक्त हुन र आफ्ना मनभित्र गुम्सिएका पीडाहरु पोख्न उनीहरुले सामाजिक, सांस्कृतिक, नैतिक मर्यादा बिरोधी स्वच्छन्द जीवन रोजे, जसमा मद्यपदार्थ, नसालु पदार्थ, Hi -speed music र फ्री-यौन सम्पर्क हावी थिए ।
एक अनुसन्धान अनुसार हरेक तीन जना मानिसमा एक जना मानसिक रोगी भएको प्रमाणित भएको छ । मानसिक चिन्ता, तनाब, डिप्रेशन जस्ता मानसिक रोगबाट ग्रसित मानिसहरु बढी छन् । दिनहुँ, हत्या हिंसा, मारकाट, बलात्कार, चोरी, डकैती, अपहरण जस्ता अपराधहरु बढ्दो छ । सूचना र प्रविधि विकास, भौतिक सुख साधनको विकासले जीवन सजिलो र आरामदायी जस्तो भए पनि मानिसमा कहिले नभएको डर त्रास, भय आशंका, असुरक्षा, चिन्ता तनाव झनझन बढिरहेको छ । जताततै आपराधिक गतिबिधि, सडक दुर्घटना, आत्महत्या, बढ्दो छ । आखिर सबैथोक पाएर पनि मानिसलाई आफैभित्र केही गुमाइरहेको भान भइरहेको छ ।
यही परिस्थितिमा चार महिना अगाडि आएको कोरोना महामारीले विश्व मानव जीवनमा अकल्पनीय उलटपुलट ल्याइदिएको छ । विश्वको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमामात्र होइन पारिवारिक जीवनमा समेत कहिले भोग्नु नपरेको समस्या र परिस्थिति सामना गर्नुपरेको छ । मानव जीवनको दिनचर्या बाह्य रुपमा ठप्प प्रायः छ । महिनौ घरभित्र थुनिएर बस्नु परको छ । बजार, कलकारखाना, स्कूल, कलेज, कार्यालय बन्द छ । अरबौ खराबौको विश्व व्यापार, संचार, आवतजावत ठप्प छ । केवल डाक्टरहरु, नर्सहरु, अस्पतालहरु मात्र पहिले भन्दा सक्रिय छन् ।
कोरोनाले हाम्रो जीवनलाई फेरि एकपल्ट उल्टो घडीमा घुमाइ दिएको छ । सबैलाई व्यस्त जीवनबाट मुक्त आरामदायी जीवन दिएको छ । घरपरिवार, आफन्त, गाउँबस्ती, छरछिमेकीसँग पुनर्मिलन गरिदिएको छ । दौडधुप, प्रतिस्पर्धा, छलकपट, तछाडमछाड विल्कुल बन्द छ । बिशेषतः कोरोना महामारीले आधुनिक शहरी जीवन नै निस्प्राण, निस्क्रिय, बनाइदिएको छ । संक्रमित रोगीहरु एकैदिनमा हजारौं मर्दा विकसित मुलुकका शहरहरु लास थुप्रिएको मसानतुल्य भएको छ ।
तर गाउँपरिसरलाई कोरोनाले त्यति धेरै छोएको देखिंदैन । गाउँलेहरुमा कोरोनाको भयावह डर-त्रास देखिएको छैन । सबै कोरोना बावजुद आआफ्नो घरखेतमा सुचारु रुपमा काम गरिरहेका छन् । त्यसैले गाउँ छाडेर शहर पसेकाहरु, देश छाडेर विदेश गएकाहरु धमाधम महिनौ पैदल हिंडेर भए पनि आफ्नो जन्मथलो गाउँमा जादैंछन । परिवार, आफन्त, छरछिमेकी, साथीभाइसँग दुःखसुख बाँड्ने आत्मियता बढाइ दिएको छ । शहरको धुलोधुवाँ, रापतापमा कस्टकर जीवन बिताइरहेकाहरु गाउँघरको स्वच्छ हावापानी सेवन गर्न पाएका छन् । आफ्नै खेतबारीमा स्वतन्त्र स्वछन्द भएर अब काम गर्न फुर्सद पाएका छन् । उनीहरुलाई जति भए पनि नपुग्ने अतृप्त, अति महत्वाकांक्षी, विलासी जीवन होइन सरल सादा जीवन नै मानवलाई सुख र शान्तिको जीवनको रुपमा चिनाइ दिएको छ । शहरको बनावटी तडकभडक रंगीन जीवनभन्दा प्रकृतिले दिएको सुन्दर स्वच्छ खेतबारी,पाखापखेरो, झरानाछहारी नै स्वस्थ जीवनको उत्तम थलो हो भनी चिनाइ दिएको छ ।
ब्यस्त जीवनबाट फुर्सद हुँदा शारीरिक मानसिक रुपमा आफूतिर नियाल्ने मौका पाएको छ । आफूले आफूलाई चिन्ने मौका पाएको छ । योग ब्यायाम, ध्यान साधना, अध्ययन लेखन गर्न र सिर्जनशील कार्यमा व्यस्त हुने समय पाएको छ । अरुको लागि भन्दा आफनै लागि जीवन जीउन अवसर मिलेको छ ।
विकासको नाममा मानिसलाई भौतिक प्राणी र यान्त्रिक प्राणीको रुपमा दिएको गलत परिभाषा कोरोनाले उल्ट्याइ दिएको छ । आधुनिक विकासको भेलमा बगेर आफ्नो मानव जीवनलाई संवेदनहीन यान्त्रिक जीवनको रुपमा अंगालेको मानव प्राणीलाई फेरि एकपटक कोरोनाको महामारीले आफ्नो “मूल परिचय“ एक आत्मीय, संवेदनशील, मानसिक, मनोवैज्ञानिक तथा अध्यात्मिक प्राणीको रुपमा चिनाइ दिएको छ । र, आफ्नै स्वप्रकृतिमा फर्कन सहयोग गरिदिएको छ । २० वैशाख २०७७
प्रतिक्रिया