वैशाख २५ गते स्थायी समितिको वैठक, वामदेवलाई राष्ट्यिसभामा लैजाने पूर्व निर्णय खारेज
२० वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक वैशाख २५ गते बस्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘पार्टीको एकता, सहमति र समस्या समाधानको निष्कर्ष अनुरुप पार्टीलाई दिशानिर्देशित गर्नेगरी स्थायी कमिटीको बैठक यही वैशाख २५ गते ११ बजे बस्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको तयारीका लागि वैशाख २४ गते सचिवालय बैठक बस्नेछ ।’
बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । ‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने । प्रतिनिधिसभामा लैजाने निर्णयसँगै यसअघि राष्ट्यिसभामा लैजाने निर्णय खारेज भएको छ ।
बैठकमा नेताहरुले पार्टीभित्रका पछिल्ला कमिकमजोरीप्रति आत्मलोचनासमेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
निकै ठूलो विवादका बीचमा बसेको यो वैठकले गर्ने निर्णयका बारेमा चौतर्फी चासो व्यक्त भइरहेको थियो ।
प्रतिक्रिया