लकडाउनमा काठमाडौंका सडकमा गाडी जाम
२१ वैशाख, काठमाडौं । सरकारले वैशाख २५ गतेपछि परिस्थिति हेरेर देशका केही भागमा लकडाउन सशर्त खुकुलो बनाउने भनिरहेकै बेलामा राजधानी काठमाडौंमा पहिलेदेखि नै गाडीको चाप बढेको छ । आजदेखि अप्रत्यासित रुपमा काठमाडौंको मुख्य चोकमा ट्राफिक जाम नै परिरहेको छ ।
माथिको फोटो पहिलाको राजदरवारको पश्चिम गेटतिरको गाडी जाम भएको हो । चैत्र ११ गतेको लकडाउनपछि दरवारमार्गतिर मात्र होइन चाबहिल, कोटेश्वर, कलंकी, महाराजगञ्ज, बालाजुसहित सबै ठाउँमा गाडीको चाप बढेको देखिएको छ ।
काठमाडौंमा कोरोनाको त्रास अहिले देखिएको छैन र त्यति ठूलो प्रभाव अहिले नै देखिएको छैन । कोरोना भाइरस प्रभावित भारतको क्षेत्रबाट वीरगञ्जसहित कतिपय नाकाबाट सामान र मान्छेहरु आइरहेका आशंका वाहेक काठमाडौं डराउनुपर्ने अवस्थामा नरहेको नक्सालमा तरकारी व्यापारी दिनेश महर्जन बताउँछन् ।
उनी भन्छन, ‘सोशल दूरीसँग सम्बन्धित नियमहरुलाई पालना गरेर, घरबाट वाहिर आउँदा मास्क लगाएर, सार्वजनिक यातायात तत्काल नखुलाएर, नजिक नजिकको दूरीमा पैदल वा चिनेका मान्छेका प्राइभेट यातायात साधन प्रयोग गरेर कामकाजमा फर्कन दिए हुने महर्जनको तर्क छ ।
अन्तर्राष्ट्रिय हवाइ र भारतीय सीमालाई कडाइ गर्ने, एक जिल्ला, एक पालिकाबाट अर्काेमा जाँदा कामका आधारमा मात्र जानदिने, मान्छेहरुको परीक्षण बढाएर काममा फर्कन ढिलाइ गर्नु नहुने मैतीदेवीका किराना पसल चलाउने श्याम पाण्डे बताउँछन् ।
प्रतिक्रिया