नेकपा अन्तरसंघर्षको सुखद पटाक्षेप 

नेकपा अन्तरसंघर्षको सुखद पटाक्षेप 

रवि किरण

नेकपाभित्र केही समयदेखि देखापरेको संकट हाललाई समाधान भएको छ । पार्टी सचिवालयको शनिवारको वैठकवाट देखिएका तिक्तता मूल रुपमा साँघुरिएका छन् । फुटको स्वैरकल्पनामा रमाएका पार्टी विरोधी सबै शक्तिहरुलाई पराजीत गर्दै सबैले देख्ने गरी एकता हासिल गरेको छ । यसै अन्तरसंघर्षले केपी ओली सरकारको आकाशमा मडारिएको कालो वादल पनि सफा भएको छ र अब सरकारलाई पार्टीभित्रवाट आउने चुनौती टरेको देखिएको छ । 

विगत केही समयदेखि पार्टीभित्र देखापरेको भीषण संघर्षको यति सुखद समापन होला भनेर कसैले पनि सोंचेका थिएनन् । निकै ठूलो उथलपुथल र क्षति अवश्यम्भावी जस्तो देखिंदै थियो । सांसदहरुको टाउको गनाइ र समानान्तर हस्ताक्षर अभियान, एकअर्कालाई निषेध गर्ने ढंगका वरिष्ठ नेताहरुका कडा अभिव्यक्ति र अन्तर्वार्ताहरु, प्रम र पार्टी अध्यक्षबाट राजीनामा माग, अख्तियार, जेल, द्वन्द्वकालीन मुद्धा आदिको चर्चा आदि प्रकरणले मिल्ने ठाउँ साँघुरिदै गएको देखिदैं थियो । यसले लाखौँ नेता कार्यकर्ताको चिन्ता र आक्रोश वढाउँदै लागेको थियो तर अचानक यी सबैलाई शनिवार अवेरसम्म चलेको पार्टी सचिवालय वैठकले विराम लगाइदिएको छ । एकता, रुपान्तरण, सहकार्य एकअर्काका पुरक आत्मालोचनाका मधुर ध्वनीहरू पार्टी पंक्तिभित्र पुनः गुन्जिन पुगेका छन् ।  
 
आखिर यो अपत्यारिलो एकता कसरी सम्भव भयो ? यसबारे राजनीतिक विश्लेषकहरुले आगामी केही दिन चर्चा गर्ने नै छन् । यहाँ यसबारे छाटो चर्चा गरिएको छ ।

पहिलो कारण, देशभरिका जनता र पार्टी कार्यकर्ताको चर्को दवाव देखापर्यो । एकता कुनै पनि वहानामा टुट्नु हुँदैंन । अहिले वेमौसमी तवरले सरकारको फेरवदलको कुरा वेठीक छ । कमजोरी कुनै अमुक नेताको मात्र होइन सवै पक्ष र सवै नेताहरुको छ । सरकारले पनि जनचाहना मुताविक काम गर्न सकेको छैन तर यसलाई हटाएर अर्को सरकारले पनि कुनै अद्भुत चमत्कार गर्ने होइन । आफ्नै पार्टीको सरकार हटाएर अर्को नेता फेर्ने अनुचित हुन्छ, झन् विश्वव्यापी कोरानाको महामारीमा मिलेर लड्नुपर्ने बेलामा आपसी अन्तरसंघर्ष विल्कुलै नाजायज छ । मिल, मिल र मिलेर मात्र यो भवसागर पार लगाउन सक्छौ भन्ने स्पष्ट आवाज देखापर्यो । पार्टी सचिवालय वैठकमा गृहमन्त्री क राम वहादुर थापा वादल विश्वव्यापी महामारीको विरुद्ध लड्न, उत्पीडित वर्गलाई राहत र बदलिएको परिस्थितिअनुसार चल्न मिलेर जानुपर्ने कुरामा दृढतापूर्वक उभिनुभयो । सचिवालय वैठकको पहिलो दिनदेखि अन्तिमसम्ममात्र होइन त्यस अगाडिदेखि नै उहाँले यसलाई प्राथमिकताका साथ निरन्तर उठाउँदै आउनु भएको छ । एकता र रुपान्तरणमा जोड दिदैं आउनुभएको छ । पार्टी एकताको मुख्य नेतृत्व गरेकाले दुई अध्यक्ष एक भएर विद्यमान समस्या, पार्टी एकताका बाँकी कामलाई प्राथमिकतामा राखेर अगाडि जानुपर्ने उहाँको अविचल अडान हो । दुई अध्यक्ष मिल्नुपर्छ भन्नुको तात्पर्य अरुलाई निषेध गर्नुपर्छ भन्ने पटक्कै होइन । सबै पक्ष, प्रवृत्तिलाई समेट्ने कुरामा उहाँहरुले नै मुख्य नेतृत्व गर्नुपर्छ भन्ने हो ।   

एकताबद्ध भएर जानुपर्ने दुई अध्यक्ष नै दुई ध्रुवमा खडा भएर र अन्य सचिवालय सदस्य दुई कित्तामा विभाजित भएर अस्वस्थ संघर्ष गरिरहेको जटिल अवस्थामा पनि वादलले धैर्यतापूर्वक पार्टी र सरकारको एकता र रुपान्तरणको आवाजलाई दोहोर्याइरहनु भयो । 

दोस्रो कारणमा, वामदेव प्रकरण रहेको छ । केपी ओलीको वहिर्गमन पश्चात प्रचण्ड एकल अध्यक्ष, माधव नेपाल प्रम, झलनाथ खनाल राष्ट्रपति, वामदेव चुनावी प्रम, नारायणकाजी श्रेष्ठ वरिस्ठ मन्त्रीको गठवन्धन तयार गरेर चलाइएको संघर्ष त्यतिवेला कमजोर भयो जव ओलीले वामदेवलाई प्रमको प्रस्ताव गरे र तत्काल वामदेवले सहर्ष स्वीकार गरेर केपी क्याम्पमा हाम्फाले । गणितीय हिसावले भन्दा पनि प्रचण्ड माधव खेमामा मनोवैज्ञानिक ढंगले हतोत्साह गर्यो ।  

तेस्रो कारणमा, केपी ओली खेमाबाट वनाइएको प्रतियोजना रहेको छ । ओलीले यो योजना प्रष्ट त पारेनन् तर भित्रभित्र व्यापक चर्चा भने पायो । संसद विघटन, रास्ट्रपति शासन, कतिपय मुद्दा मामलाका तुरूप आदि केही अँध्यारो कोठामा चर्चित रहे । अझ प्रलोभनमा पार्ने, बलको चर्चा वेग्लै थियो । यसले पनि काफी काम गर्यो ।

चौथो कारणका रुपमा नेपालको कम्युनिष्ट पार्टी र सरकारलाई मन पराउने विश्वभरिका शुभचिन्तकको सल्लाह र सुझाव रहेको छ । उनीहरुले प्रष्ट भाषामा भने कि अहिले फूट होइन एकता र सरकारको विकल्प होइन कमीकमजोरी हटाएर एकतावद्ध पार्टी र सरकारले नै नेपाल र नेपाल जनताको हित गर्छ ।साम्राज्यवाद नेपालमा फुट पैदा गरिरहेको छ र त्यसलाई चिर्न नेपालका कम्युनिष्ट नेताहरुले एकतावद्ध हुन् उनीहरुको सल्लाह थियो ।
 
पाचौं, प्रचण्ड र माधव खेमामा पनि यसबीच फुट देखा पर्यो । दुवै खेमाका अलगअलग नेताहरुले यो गठवन्धनको औचित्यमाथि अलगअलग कोणवाट प्रश्न तेर्साए । प्रचण्ड खेमाका नेताहरुले ओलीको ठाउँमा माधव ल्याएर र सम्भावित फुटलाई निम्त्याएर हुने फाइदाबारे प्रश्न गरे । उता माधव खेमामा पनि यस्तै यस्तै प्रश्न थियो । झलनाथ वरियतामा तल पर्न चाहदैनथे। ओलीसँग लड्ने एकतासम्म त मिलेको तर ओलीपछिको समिकरणको प्रष्ट चित्र नबनेको नै देखिन्छ । 

छैटौं, स्थायी समितिका बीस जना सदस्यको हस्ताक्षर रहेको छ । यसले मनोवैज्ञानिक रुपमा स्थायी समितिको वैठक पूर्व केही न केही निर्णय गरेर जानुपर्ने चर्को दवावमा नेताहरु परे । नमिल्दा झनै अप्ठ्यारो पर्ने र पहल पूरै गुमेर स्थायी समितिमा पुग्ने भयले पनि केही हदसम्म काम गरेको देखिन्छ ।

अन्त्यमा, 

अहिले मिल्नुको विकल्प फुट थियो । त्यो कसैको पनि चाहना थिएन । अन्ततः सबै नेताहरु एकता र रुपान्तरणमै आइपुगे । यहाँ पार्टी विजय भयो । देशभरिका नेकपाका नेता कार्यकर्ताको विजय भयो । नेपाल र नेपाली जनताको विजय भयो । २२ वैशाख २०७७