सरकारसँग सी के राउतको सम्झौतापछि मधेसमा तरङ्ग, फोरम र राजपा नजिकिए

सरकारसँग सी के राउतको सम्झौतापछि मधेसमा तरङ्ग, फोरम र राजपा नजिकिए

सरकार र डा. सीके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ बीच भएको ११ बुँदे सम्झौताले राजपा र संघीय समाजवादी फोरमलाई निकट बनाउँदै लगेको छ । यी दुईबीच एकता भएमा सत्तारूढ दलका लागि समस्या हुन सक्ने देखिएको छ ।

सम्झौताको  दबाब महशुस गरेर  सरकारमा रहेको संघीय समाजवादी फोरमले  राष्ट्रिय जनता पार्टीबीचको एकता प्रक्रियालाई अगाडि बढाउन पहललाई तीव्र पारेको छ ।

केही दिन अघि राजपालाई पठाइएको पत्रलाई राजपाले थन्क्याएर राखेपछि सम्बन्ध बलियो पार्ने देखिएको छ । यो सम्झौतामा हस्ताक्षर हुनु केही दिनअघि मात्रै फोरमले औपचारिक रूपमा राजपालाई वार्ताका लागि एक पत्र पठाएको थियो ।
 
फोरम अध्यक्ष तथा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादवले राजपा अध्यक्ष मण्डलका नेताहरूसँग बालकुमारीस्थित पार्टी कार्यालयमा बेलुका ६ –७ बजेको बीचमा  भेट गरेका थिए । राजपाका नेताहरूसँग पार्टीको एकीकरणबारे पठाएको पत्रको बारेमा सोधखोज गरेका अध्यक्ष यादवले एकीकरणबारे पहल लिन राजपाका नेताहरूलाई आग्रह गरेका थिए ।

पार्टी स्रोतका अनुसार सरकारले डा. सीके राउतसँग सम्झौता गर्न खोजेको चाल पाएपछि राजपालाई वार्ता गर्ने विषयमा पत्र पठाएका थिए । फोरमले वार्ता कमिटी तीन महिनाअघि बनाएको भए पनि त्यसबारे औपचारिक जानकारी राजपालाई दिएको थिएन । एक महिनाअघि संयोजकमा महेन्द्र राय नियुक्त भएपछि आफूलाई फोरमको वार्ता कमिटीबारे  केही थाहा नभएको बताएका थिए । 

संयोजक रायले फोरम र आफूहरूको एजेन्डा एउटै भएको बताउँदै इमानदार पहल भए हामी एकीकरण गर्न तयार रहेको बताएका थिए । त्यतिखेर वार्ताबारे कुनै पहल  नलिएका फोरम अध्यक्ष यादवले राजपाका नेताहरूसँग भेटेर वार्ताबारे पहल अघि बढाउनु महत्वपूर्ण रहेको देखिएको छ ।