लकडाउनको बेला कृत्रिम अभाव सृजना गरि कालोबजारी

लकडाउनको बेला कृत्रिम अभाव सृजना गरि कालोबजारी

जनकपुर । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गरेको लक डाउनको मौका छोपी दैनिक उपभोग्य समानहरुमा कालोबजारी भएको पाइएको छ । सरकारले कालोबजारी राक्ने पहल र प्रयत्न गरिरहँदा समेत व्यापारीहरुले समानको कृत्रिम अभाव सृजना गरि कालोबजारी गरिरहेका छन् ।

विश्वभरी नै फैलिएको कोरोना भाइरसका कारण देश लक डाउन भएको बेला व्यापारीहरुले बिभिन्न समानहरुको कृत्रिम अभाव देखाएर हरेक समानमा मुल्य बढाएर बिक्री बितरण गरिरहेको पाईन्छ । 
एकातिर लक डाउनका कारण सर्वसाधारणहरु मारमा परेका छन् भने अर्काेतर्फ व्यापारीहरुले मनमानी मुल्य बढाएर सर्बसाधारणको ढाड सेक्ने काम गरिरहेका छन् ।  बजारमा लक डाउनको मौका छोपी बजारमा कालोबजारी मौलाउन थालेपछि प्रदेश २ मा प्रहरीले सक्रियता बढाएको छ । 

कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य बस्तु खरिद बिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले सप्तरी र सिरहाका प्रमुख बजारहरुमा रहेको खाद्यान्न पसलहरुको अनुगमन शुरु गरेको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाईमा थालिएको अनुगमनको पहिलो दिन आज राजविराज नगरभित्र महेश चामल पसल, गुप्ता किराना पसल, गंगा किराना पसल, प्रमोद किराना पसल, रमेश किराना पसल, निर्मल किराना पसल तथा मिलन डेरीमा अनुगमन गरेको छ । 

ती पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ लगायतमा अनुगमन केन्द्रित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।   

पसल अनुगमनका क्रममा मूल्य सूची नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको उनले जानकारी दिए । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही उनले बताए ।

अनुगमणका क्रममा गुप्ता पसलहरुबाट म्याद गुज्रिएको बिस्कुट, मूल्यसूची नभएको पाइएको जिल्ला प्रशासनका कार्यालय सप्तरीका प्रतिनिधि प्रकाश देवकोटाले जानकारी दिए । पसलहरुबाट म्याद गुज्रिएका सामानहरु बरामद गरी तत्कालै नष्ट गरिएको उनले बताए ।

लक डाउनको मौका छोपी म्याद गुज्रेको मैदा विक्री गरिरहेको अवस्थामा आज सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एक जना व्यापारीलाई पक्राउ गरेको छ । 
लहानबजारस्थित मुन्धडा इन्टरप्राइजेजमा म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको सुचनाको आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८ बोरा मैदा सहित इन्टरप्राइजेजका प्रोपराइटर पवन मुन्धडालाई पक्राउ गरेको हो । 

इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमल राज भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रेको मैदासहित मुन्धडालाई पक्राउ गरेको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिए । 

पक्राउ परेका मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर आवश्यक कार्वाही अघि बढाईएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक सरत थापा क्षेत्रीले जानकारी दिए ।
यस्तै सिमेन्टमा कालोबजारी गरेको आरोपमा धनुषाको जनकपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका ११ स्थित आनन्द इन्टर प्राइजेज हार्डवेयरमा बजाउ मुल्य भन्दा बढी मुल्यमा सिमेन्ट बिक्रि गर्दै गरेको अवस्थामा हार्डवेयरका सञ्चालक ४८ वर्षिय रामप्रताप साह र चन्दन आइरन स्टोरका सञ्चालक चञ्चल कुमार चौधरीलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

यस्तै लकडाउनको मौकाछोपी बिना बिल बिजक लैजाँदै गरेको अगरबत्ती लोड गरिएको ट्रकसहित एकजनालाई प्रहरीले बिरगञ्जबाट पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका २१ परवानीपुरबाट जितपुरतर्फ जाँदै गरेको ना २ ख ९०१५ नम्बरको ट्रक चेकजाँच गर्दा चम्पा अगरबत्ती ४८० कार्टुन लोड रहेको र सो अगरबत्तीको बिल बिजक माग गर्दा पेश गर्न नसकेकोले ट्रकसहित चालक रौतहटको बृन्दावन नगरपालिका १ निवासी सिताराम पटेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता मसुरो दालमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका बीरगञ्जका ६ व्यापारी धरौटीमा रिहा भएका छन् । बाराको परवानीपुर ४ चैनपुरमा रहेको नारायणी मोडर्न पल्सेस ईण्डष्ट्रिजका सञ्चालक र प्रतिनिधि, बारा ९ छातापिपरामा रहेको श्रीकृष्ण आधुनिक दाल उद्योगका सञ्चालक र प्रतिनिधि, बाराकै परवानीपुर ४ लिपनीमालमा रहेको महाविर ओभरसिज प्रालिका सञ्चालक र प्रतिनिधिलाई धरौटी राखेर साधारण तारेखमा रिहा गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

लकडाउनको मौका छोपी यी उद्योगहरुले बढी मूल्यमा मसूरोको दाल विक्री गरेको जनगुनासो आएपछि अनुगमन गएका समितिको प्रतिवेदनको आधारमा प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ बमोजिकम कालोबजारी गरेको आरोपमा गत वैशाख १४ गतेदेखि सबैलाई पक्राउ गरेको थियो ।

सरकारले एकातिर मुलुकमा दैनिक उपभोग्य समानको स्टोक प्रर्याप्त रहेको बताईरहेका छन् भने अर्काेतिर बजारमा समान छैन् भनि कृत्रिम अभाव सृजना गरेर व्यापारीहरुले कालोबजार गर्दै आएका छन् । व्यापारीहरुको मनोमानी बढ्दै जाँदा बजार अनुगमनमा तिब्रतासँगै प्रहरीले कडा निगरानी बढाएपछि कालोबजारी केही हदसम्म निरुत्साहित हुने स्थानीयहरुको विश्वास छ ।