कैलालीका दुई औषधि व्यवसायीलाई कारबाही

कैलालीका दुई औषधि व्यवसायीलाई कारबाही

कैलालीका दुई वटा औषधी व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय  कैलाली र आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीको संयुक्त अनुगमन टोलीले सोमबार धनगढी उपमहानगरपालिका २ स्थित सरोज मेडिकल हल र गोदावरी नगरपालिका २ स्थित हिमाल फार्मेसीलाई कारबाही गरेको अनुगमन टोलीले जनाएको छ । 

धनगढीको सरोजलाई रु. २० हजार र गोदावरीको हिमाललाई रु. २ लाख जरिवाना गरिएको आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनले बताए । उनका अनुसार सरोजलाई औषधि खरिद बिल माग गर्दा देखाउन नसकेको र हिमालले सर्जिकल मास्कमा मूल्य वृद्धि गरेर बिक्री वितरण गरिरहेको पाइएपछि कारबाही गरिएको हो । प्रमुख पुनमगरले अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा ४७ प्रतिशत बढी मूल्य असुलेको पाइएपछि जरिवाना गरिएको बताए ।

सो अनुगमन टोलीले  सोमबार धनगढी र गोदावरीमा रहेको छ वटा औषधि पसलमा अनुगमन गरेको थियो । यसअघि लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई कारबाही गरिएको सो कार्यालयले जनाएको छ । 

कैलालीमा सोमबार अपरान्ह् ४ बजेदेखि धनगढी लगायतका बजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । दुई दिनदेखि दैनिक दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले नेपालगञ्जमा १५ जनामा कोरोनाको संक्रमण पाइएपछि कैलालीमा समेत लकडाउनमा कडाइ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।