खुल्ला सीमा अभिशाप
भारतसँगको खुल्ला सिमाना नेपालका लागि सधैं अभिशाप बनेको छ । कोरोनाभाइरसको महामारीका लागि स्वास्थ्य सामग्रीको अभावभन्दा पनि खुल्ला सीमा गम्भीर चुनौतीको पर्खाल बनेर खडा भएको छ । नेपाल भारत सरकारले सीमा बन्द गरेका छन् । तर, आवतजावत भइरहेकै छ । भारतसँग सीमा जोडिएका शहरमा संक्रमणको संख्या दिनदिनै ह्वातह्वाती बढेको बढ्यै छ । बाँकेमा त समस्या काबुभन्दा वाहिर हुन्छ कि भन्ने सन्त्रास देखिएको छ । भारतसँग सीमा जोडिएका अन्य जिल्ला रुपन्देही, पर्सा र रौतहटमा संक्रमण देखिएको छ । उदयपुरमा पनि भारतबाट आएकाहरुमा नै संक्रमण देखिएको छ ।
कोरोनाभाइरसको महामारीका कारणले मात्र होइन राजनीतिक, आर्थिक, सामाजिक हस्तक्षेप रोक्नका लागि पनि खुल्ला सीमा बन्द गर्नुपर्ने आवाज उठिरहेका हो । कोरोनाका त्रासका कारण सरकारले अहिले सीमा बन्द गर्न पहल त गरेको छ तर घरमा आगो लागेपछि इनार खन्ने कार्य भए जस्तो भएको छ । मुख्य सडकमा मात्र सुरक्षाकर्मी तैनाथ छन्, रातविरात सहायक बाटाहरु प्रयोग गरेर मान्छेहरुको आवतजावत बाक्लै छ । फेरि लामो खुल्ला सीमालाई प्रशासनले रोकेरमात्र पनि सम्भव छैन । यसमा जनता आफैं सक्रिय भएर लाग्नुपर्छ ।
सीमा क्षेत्रमा स्वास्थ्य परीक्षणलाई तीब्र बनाउने, भारतबाट आएका अत्यावश्यक सामान र मान्छेहरुको एकदमै राम्रोसँग चेकजाँच गर्ने हुनुपर्छ । जनतालाई कोरोना र यसको संक्रमणका बारेमा चेतना जगाउने कामलाई उच्च प्राथमिकता दिनैपर्छ । भारतमा कोरोना संक्रमण तीब्र बनेको छ, यसको असर नेपालका सीमा क्षेत्रमा देखिइसकेको छ । धेरैभन्दा धेरै सीमा क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर तीव्र परीक्षण र सीमा क्षेत्रमा स्थानीय जनतालाई नै जागृत गराएर भारतबाट नेपाल प्रवेशमा रोक लगाउनै पर्छ । ल्याउनै पर्ने नेपालीहरु छन् भने लुकीछिपी भित्री बाटोबाट होइन राम्रोसँग परीक्षण गरेर, निश्चित समयसम्म क्वारेण्टिन र सामाजिक दूरीमा राख्ने वन्दोवस्त हुनुपर्छ । बाँकेसहितका सुलभ ठाउँमा संक्रमणको बारेमा परीक्षणपछि थाहा भएको छ, दूरदराज जहाँ नदीमा पौडेर, जंगल छिचोलेर कति दूरदराज पुगेका छन्, त्यसले बिस्फोटको रुप लिनसक्छ भनेर बेलैमा सतर्क हुनैपर्छ । सम्पादकीय समयबद्ध
प्रतिक्रिया