नेकपाको विवाद मिलाउन बालुवाटार पुगे प्रचण्ड र नेपाल
काठमाडौं, २३ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादको समाधान खोज्न तीन शीर्ष नेताहरु मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार बिहानै बालुवाटारमा छलफलका लागि जुटेका हुन्।
नेकपामा देखिएको पछिल्लो विवादको समाधानको विकल्प खोज्न सोमबार अध्यक्ष दाहाललाई जिम्मेवारी दिइएको थियो। आगामी वैशाख २५ मा बस्न लागेको स्थायी कमिटी बैठकमार्फत अहिले देखिएका विवादको निरुपणका लागि नेताहरु जुटेका हुन्।
वैशाख २० मा बसेको सचिवालय बैठकबाट नेकपामा उत्कर्षमा पुगेको विवाद तत्काललाई रोकिएको छ। तर दाहाल र नेपाल समूह भने अझै पनि एक पद एक व्यक्तिको रणनीति बनाइरहेका छन्। त्यही रणनीति अनुसार ओलीलाई दुईमध्ये एक पदबाट बिदा गर्ने रणनीति अनुसार सोमबार पनि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा दाहाल, नेपाल, अर्का वरिष्ठ नेता खनालसहितको बैठक बसेको थियो।
प्रतिक्रिया