सीमामा पासपोर्ट र भिसा प्रणाली लागू गर्नुपर्छ भन्ने कोरोना परिघटनाले दिएको सन्देश : गुरुङ
काठमाडौँ, २३ वैशाख । सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले सीमामा कडाइ गरेर मात्रै कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण हुने बताएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकारी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सीमामा कडाइ नगरी कोरोना नियन्त्रण गर्न कठिन हुने बताएका हुन् ।
सीमानाकाबाटै कोरोना भाइरसको संक्रमणको जोखिम निम्तिएकाले कडाइ गर्नुपर्ने गुरुङले सुझाव दिएका छन् । ‘सीमामा टाइट नगरे त्यही नै हाम्रो निम्ति जोखिम र अभिशाप सावित हुनेछ,’ उनले भने, ‘तारबार लगाएर सीमा बन्द गर्नैपर्छ ।’ त्यस्तै उनले खासखास नाका मात्र खुलाएर सीमामा पासपोर्ट र भिसा प्रणाली लागू गर्नुपर्छ भन्ने कोरोना संक्रमणको परिघटनाले सन्देश दिएको बताए ।
प्रमुख सचेतक गुरुङले सीमा सुरक्षामा नेपाली सेना नै खटाउनुपर्ने पनि बताएका छन् । ‘सीमामा सशस्त्र प्रहरी र आन्तरिक सुरक्षामा नेपाली सेना खटाइनु अलि उल्टो भयो कि भन्ने लाग्छ,’ गुरुङले भने ।
त्यस्तै आरडीटी परीक्षण विश्वसनीय नभएको भन्ने गुनासो आइरहेकाले यसमा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिनुपर्ने गुरुङले बताए । कोरोना भाइरसको महामारीका बेलामा अन्य रोगका बिरामीको उपचारमा बेवास्ता गरिएको भन्ने गुनासो आएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने गुरुङले बताएका छन् । कोरोना भाइरसको रोकथाम र उपचारमा निजी अस्पतालले तदारुकता नदेखाएको भन्दै यसले निजी अस्पताललाई पनि राष्ट्रियकरण गर्नुपर्छ भन्ने सन्देश दिएको उनले बताए ।
त्यस्तै विदेशमा अलपत्र परेका नेपालीलाई पनि अनुकुल समयमा स्वदेश फर्काउन सरकार तयार हुनुपर्ने गुरुङले बताएका छन् । सर्वोच्च अदालतले समेत विदेशमा अलपत्र नागरिक ल्याउने प्रबन्ध गर भनेर अन्तरिक आदेश दिएको अवस्थामा सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उनले बताए ।
प्रतिक्रिया