लग्जम्बर्ग भन्दा दोब्बर भूमिको खोजी गर्दै भारत सरकार
काठमाडौ । भारतमा लग्जम्बर्ग भन्दा दोब्बर भूमिको खोजी त्यहाँको संघीय सरकारले गरिरहेको छ ।
भारतले केही दिन अघि आफ्नो सीमासँग जोडिएका छिमेकीहरूबाट हुने विदेशी लगानीमा रोक लगाएको थियो । चीन र नेपाल लगायतका छिमेकीबाट हुने विदेशी लगानी रोक्ने निर्णय गरेको भारतले चीनबाट निस्कने देशका लगानीकर्ताहरूका लागि लग्जम्बर्ग भन्दा दोब्बर भूमिको प्रवन्ध मिलाउन थालेको खुलेको छ ।
चीनबाट निस्कने लगानीकर्ताहरूलाई स्वागत गर्न भारतको संघीय सरकारले प्रान्तीय सरकारहरूसँगको छलफल अगाडि बढाइरहेको छ । तर चीनलाई लगानी गर्नबाट रोक लगाएको छ । यसबारेमा यसअघि चीनले भारतको यो निर्णयप्रति चासो व्यक्त गरेको थियो ।
भारतले ४लाख ६१ हजार ५८९ हेक्टर बराबरको भूमिको टुक्रा पहिचान गर्न र त्यसका लागि सम्बन्धित सरोकारवाला प्रान्तसँग अधिग्रहणसम्बन्धी छलफल बढाइरहेको इकोनोमिक्स टाइम्सले जनाएको छ ।
कतिपयले भारतको यस किसिमको रवैयाबाट चीन र भारतबीचको व्यापारिक सम्बन्धमा तनाव उत्पन्न हुन सक्ने बताउने गरेका छन् । तर चीनलगायतका छिमेकी देशबाट हुने सक्ने विदेशी लगानीका लागि सरकारसँग अनुमति लिनुपर्ने प्रावधानको भारतमा व्यापक स्वागत गरिएको थियो ।
यसमा गुजरात, महाराष्ट्र, तमिलनाडु,आन्ध्रा प्रदेशको विद्यमान १ लाख १५ हजार १३१ हेक्टर बराबरको औद्योगिक भूमि पनि समावेश गरिएको छ । विश्व बैकले जनाए अनुसार लग्जम्बर्ग २ लाख ४३ हेक्टरमा फैलिएको छ ।
भारतमा लगानी गर्न खोज्ने लगानीकर्तााहरूका लागि भूमिको प्रवन्ध सबैभन्दा महत्वपूर्ण मध्येको एक आवश्यक विषय रहेको छ । साउदी अरामको देखि पोस्कोसम्मका लगानीकर्ताहरूले भूमि प्रवन्धमा भइरहेको ढिलाइ प्रति दुख व्यक्त गरिरहेको यस सम्बन्धित स्रोतको भनाइ रहेको छ ।
चीनका उत्पादनमूलक कम्पनीमाथिको निर्भरता हटाउनका लागि विश्वका लगानीकर्ताहरूले भारतमा लगानी गर्न खोजेका स्रोतको भनाइ रहेको छ । कोरोनाभाइरस पछिको अवस्थामा आपूर्ति शृंखलामा हेरफेर हुन सक्ने देखिएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयका प्रवक्ताले यसबारे जानकारी दिन मानेन् ।
भारत सरकारले इलेक्ट्रिकल, फर्मास्युटिकल्स, मेडिकल डिभाइस, इलेक्ट्रोनिक्स, ह्याभी इन्जिनियरिङ, सौर्यउपकरण , भोजन प्रशोधन, रसायन र टेक्सटाइलजस्ता १० क्षेत्रका लागि विशेषध्यान दिएर सोचिरहेको छ । जापान, अमेरिका, दक्षिण कोरिया र चीनले एसियाको तेस्रो ठूलो अर्थतन्त्रका बारेमा रूचि बढाइरहेका छन् ।
भारतका शीर्ष १२ व्यापारिक साझेदारहरूमा यी चार देश रहेका छन् । यी देशहरूबीचको पारस्परिक व्यापार १७९.२७ अर्ब अमेरिकी डलर बराबरको रहेको छ । यी चार देशसँग अप्रिल २०००देखि सन् २०१९को डिसेम्बरसम्म ६८ अर्ब अमेरिकी डलर बराबरको विदेशी लगानी भएको सरकारी आँकडा रहेको छ ।
प्रतिक्रिया