लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि घोषित लकडाउन २५ वैशाखसम्म कायम छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ दिन पुगिसेको छ ।
लकडाउनले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर परिरहँदा प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज उठिरहेको छ ।
यसअघि हिजो बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गर्ने बताएको थियो ।
यद्यपी प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन खुकुलो बनाउने प्रस्ताबमा सहमत नदेखिएले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरिएको हो । प्रधानमन्त्री ओलीले अहिले नै क्षेत्र छुट्याएर जान नसकिने बताएका थिए ।
क्याबिनेट स्रोत अनुसार प्रधानमन्त्रीले भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिएको छ त्यसको असर नेपालमा पर्ने भन्दै लकडाउन लम्ब्याउनुपर्नेमा अडिक देखिए । उनले नेपालमा कोरोना टेष्ट पनि पर्याप्त मात्रामा नभएकोले लम्ब्याउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया