काउन्सिल निर्णयमा माहिर सहयोगमा न्युन

काउन्सिल निर्णयमा माहिर सहयोगमा न्युन
काउन्सिल निर्णयमा माहिर सहयोगमा न्युन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको बोर्ड बैठकले कोभिड १९ को महामारीका कारण स्वदेश तथा विदेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीको अध्ययन मान्यताको लागि सैद्धान्तिक कक्षाको पढाई बारे सम्बन्धित कलेज विश्व विद्यालयले व्यवस्था गरे बमोजिम हुने बताएको छ । त्यस्तै प्रयोगात्मक र अस्पतालमा गई विरामीको हेरचाह गर्नुपर्ने विषयमा कलेज अस्पतालमा उपस्थित भई पूर्ववत हाजिर भएर गरिएको अध्ययनलाई मात्र मान्यता दिने भनी निर्णय गरिएको सूचना सार्वजनिक गरेको छ । 
 

अहिले संसारभरि कोभिड १९ को असर परिरहँदा बंगलादेश, भारत, चीन लगायत विभिन्न देशमा गई चिकित्सशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरु अहिले नेपाल फर्किएका छन् । लकडाउनको कारण अन्तर्राष्ट्रिय उडान बन्द रहेको छ । उनीहरु इन्र्टनसिपमा फर्कन सक्ने माहौल छैन । 
 

विद्यार्थीहरुले नेपाल मेडिकल काउन्सिललाई स्वदेशमै इन्र्टनसिपको व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन् तर मेडिकल काउन्सिलले त्यसको पहल गर्न सकिरहेको छैन वा चासो दिएको छैन । अहिलेको यो कोरोना भाइरसको महामारीको समयमा चिकित्सकहरुको महत्वलाई नजरअन्दाज गर्दै काउन्सिलले उनीहरुको मनोबललाई गिराउने गरी थप नयाँ रुलहरु सार्वजनिक गरेको छ । 

 

यस अघि पनि काउन्सिलले चीन र रसियामा चिकित्सक अध्ययन गर्ने विद्यार्थीहरुलाई ६ महिना थप इन्टरसिप गर्नुपर्ने नियम बनाएको थियो । यसले विद्यार्थीको भिसामा समस्या पर्न जान्छ भन्ने कुरामा काउन्सिल जानकार छ । 
 

विदेशमा अध्ययन गर्ने तर अहिले नेपालमा अड्किएका विद्यार्थीहरुल इन्टरसिपको व्यवस्था नेपालमै मिलाईदिन आग्रह गरिरहेका छन् तर काउन्सिल त्यो व्यवस्था मिलाउन तयार छैन । 
 

कोभिड–१९ को असर बढ्दै जाँदा त्यसको अग्रभागमा बसेर लड्नु पर्ने चिकित्सकहरुको मनोबल गिराउने गरी गरेको निर्णयले कसैलाई फाइदा गर्दैन । नेपालमा चिकित्सकहरुको अभाव छ तर अध्ययन गर्ने सिट संख्या एकदमै थोरै छ । त्यसैले मेडिकल पढ्न रहर गर्नेहरु विदेशिन बाध्य छन् । तर काउन्सिल भने विदेशमा गएर अध्ययन गर्नेलाई हेप्ने गरेको र उनीहरुलाई नेपालमा काम गर्न सहज होइन बाधक बनाइरहेको देखिन्छ ।