बुद्ध लुम्बिनीमा जन्मिएको अनेक प्रमाण छन्ः ओली 

बुद्ध लुम्बिनीमा जन्मिएको अनेक प्रमाण छन्ः ओली 

काठमाडौ, २५ वैशाख । २५६४ ओं बद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गदै प्रधानमन्त्री केपी ओलीले बुद्ध दर्शनले विश्व शान्तिमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्। ओलीले बुद्ध लुम्बिनीमा जन्मिएको अनेक प्रमाण रहेको पनि बताएका छन्।

‘पाल्पाका गभर्नर जनरल खड्ग शमशेर र जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारेसँगै लुम्बिनी पुनः पत्ता लाग्यो। ब्रम्ही लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको सर्वविदितै छ।’

ओलीले भनेका छन्, अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलबस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित भयो।''

साथै, नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपा अहिलेसम्म उत्खनन् नभएको मौलिक स्तुपाका रुपमा रहेको छ, जहाँ शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहेको छ। एक घन्टाको यात्राबाट ३ वटा बुद्धको जन्मस्थलसम्म पुग्न सकिने यस्तो संयोग संसारमा कहींकतै पाइदैंन।