वीरगञ्जका आकाश र जनमनमा कालो वादल
जगत राई
२५ वैशाख, वीरगञ्ज । कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै वीरगञ्ज त्रसित छ । योसँगै अहिले आँधी, हुरी, बतास र पानीले अर्को त्रास थपेको छ । धेरै ठाउँमा विजुलीका लाइनहरु गएका छन् । आकासमा कालो बादल मडारिएको छ । सडकका किनारामा प्रहरीको बाक्लो तैनाथी छ । अदृश्य शत्रु कोरोना भाइरस र प्रकृतिका विरुद्ध ठूलै लडाई लड्न तयारी भइरहेको आभास भइरहेको छ वीरगञ्जमा यतिवेला ।
भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन, बाचा छिट्टै आउँछु भनी भन्नु पर्या छ, मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ भन्ने कालजयी गीतको भावमा मान्छेहरु अनिश्चयको सुरुंगमा हिंडिरहेका छन् ।
बुधवार जिल्ला प्रशासन कार्यालय, पर्साले पत्रकारलाई पनि जिल्ला प्रशासनको पास लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यो सतर्कता होला । तर, निर्वाध सूचना लिने प्रयासमा यसले कतै न कतै प्रभाव पारिहाल्छ ।
कोरोना भाइरस तीन जना जमातीबाट १७ जनामा फैलिएको र यसले कहाँसम्म ढाकेको छ भन्न सकिने अवस्था छैन । राजधानी काठमाडौंसहित जोड्ने मुख्य व्यापारी नाका वीरगञ्जको यो हविगतले आगामी दिनमा रोग र देशको आर्थिक संकटले नकारात्मक प्रभाव पार्ने पक्का छ ।
प्रतिक्रिया