सांसदहरुको कोरोना परीक्षण सुरु

सांसदहरुको कोरोना परीक्षण सुरु

काठमाडौं, २५ वैशाख । शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ।

सांसदहरुको पिसिआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको हो । त्यसका लागि बिहीबार बिहान १० बजेदेखि सुरु भएको स्वाब संकलन दिउँसो २ बजेसम्म चल्ने छ। अहिले राष्ट्रियसभा सदस्यको स्वाब संकलन चलिरहेको छ। ११ बजेपछि प्रतिनिधिसभा सदस्यको चल्नेछ।

स्वाब संकलन संघीय संसद भवन परिसर बानेश्वरमा चलिरहेको छ।

मंगलबार बसेको कार्य व्यवस्थाको बैठकले सांसदहरुको अनिवार्य रुपमा कोरोना परीक्षण गराउने निर्णय गरेको थियो।

बैठक स्थलमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली राखिने गरी सामाजिक दूरी कायम गरिने छ। संसदमा प्रवेश गर्ने सांसदहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने  र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ।