वामदेव, नारायणकाजी र विष्णुको सत्ताको अतृप्त तृष्णाको बन्दी नेकपा

वामदेव, नारायणकाजी र विष्णुको सत्ताको अतृप्त तृष्णाको बन्दी नेकपा

सञ्चार लाल

वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलको राजकीय सत्तामोहको अतृप्त तृष्णा र आफ्ना अतृप्त तृष्णाहरुको पूर्तिका लागि उनीहरुले अपनाएका अराजनीतिक आत्मकेन्द्रित स्वार्थी चालहरुको बन्धकमा छ अहिले सत्तारुढ नेकपाको शीर्ष नेतृत्व र पार्टी सचिवालय । सचिवालयका तीन नेता गौतम, श्रेष्ठ र पौडेलको नीतिमा अस्ष्टता, विधिको अवमूल्यन, नेतृत्वप्रतिको अराजनीतिक र अनैतिक चाकडी  चाप्लुसी, घुर्की, बार्गेनिंग, आफ्नो निहित स्वार्थका लागि जता मल्खो उतै ढल्को गर्ने स्वार्थी मनोवृत्ति नै अहिले नेकपा सचिवालयलाई अनिर्णयको बन्दी बनाइएको छ ।  अध्यक्षद्वय केपी ओली र प्रचण्ड कुहिरोको काग बनाइएको मनोदशा पनि मुलतः यी तीन स्वार्थी प्रवृत्तिकै उपज रहेकोे यथार्थ हो । र, नेकपाका यी तीन आत्मकेन्द्रित स्वार्थी प्रवृत्तिका कारण एकातिर पार्टीमा अनावश्यक अराजनीतिक कलह बढेको छ भने देशभरका नेता कार्यकत्र्ता र आम जनतामा पार्टी र सत्ताप्रति नै व्यापक वितृष्णा र निराशा बनेको छ ।

गौतम र श्रेष्ठ पछिल्लो आमचुनावमा बर्दिया र गोरखाबाट चुनाव हारेका खेलाडी हुन् । कारण जे सुकै होउन तर उनीहरु यो संसदमा प्रतिनिधित्व गर्न अयोग्य साबित भएका हुन् जनताको परीक्षामा, मतादेशमा । पार्टीले झण्डै दुई तिहाइ जित्दा यिनीहरु संसदमा आउन सकेनन् । तर, उनीहरुलाई नै फेरि चोर बाटोबाट संसदमा जानु परेको छ, मन्त्री, प्रधानमन्त्री हुनु परेको छ । पार्टी एकताको बेला फुत्त टीके महासचिवका रुपमा विष्णु पौडेलको उदय भएको हो । उनी महासचिव भएर पार्टीको उत्थानमा होइन, आफ्नै उद्दारमा केन्द्रित छन् । कसरी हुन्छ, पार्टी र सरकारको सत्ता आफूमा निहित बनाउन अनावश्यक चलखेल गरिरहेका छन् । 

नारायणकाजी त अराजनीतिक र अनैतिक हर्कत गरेर राष्ट्रिय सभामा नै पुगिसके । अब उनले उपप्रधानमन्त्रीसहित एक मालदार मन्त्रालय पाउनका लागि कसो गर्दा ठीक हुन्छ, त्यसै गर्न आफूलाई सक्रिय पार्दै र अध्यक्षद्वय ओली र प्रचण्डबीच नारदको भूमिकामा खेलिरहेका छन् । वामदेवलाई संगठन विभाग प्रमुखदेखि उपाध्यक्ष हुदा पनि भाग पुगेको छैन र नाई मलाई त्यही केटी चाहिन्छ भन्ने गिती भाका बिर्साउने गरी 'एनी हाउ प्रधानमन्त्री पाउँ' भनी गैरसंवैधानिक हर्कत गर्न उद्दत छन् । यी तीन पात्रको व्यक्तिगत महत्वाकाँक्षा कहिले ओली चरणमा शरण पर्छ, कहिले प्रचण्ड शरणमा पर्छ । यिनको स्वार्थी अस्थिर प्रवृत्तिले नेतृत्व र पार्टी बदनाम बनिरहेको छ । 

हात्तिवन भेला नै समस्याको जड

नारायणकाजी श्रेष्ठले अब आगामी दिनदेखि व्यक्ति विशेष महत्वाकांक्षालाई लिएर कुनै पनि वैठकमा सहभागी हुँदिन भनेर शनिवार सचिवालयको वैठकमा प्रतिबद्धता जनाए । त्यसको एक दुई दिनमा हात्तीवनमा प्रचण्ड, झलनाथ खनाल र माधव नेपाललाई बोलाएर गुटको वैठकको आयोजना गरे । केपी ओली र प्रचण्डले आत्मालोचना गरेर आगामी दिनमा रुपान्तरण गर्ने भन्ने संश्लेषण गरेर जाने भन्दै सकारात्मक सन्देश दिएको पक्षलाई नारायणकाजीको सो भेलाले फेरि उपेक्षा गर्यो । 

माधव नेपालले दुई अध्यक्षले मिलेर जाने सहमति गरेपछि दुई जना नेतामात्र मिलेर चोचोमोचो मिलाएर जान नहुने भनेर वैठकमा नै असन्तुस्टि जनाएका थिए । माधव नेपालको त्यो असन्तुस्टि आफ्नो भूमिकाको खोजी थियो । तुलनात्मक रुपमा नेपालको लडाई व्यक्ति भन्दा विधिप्रधान पार्टी हुनुपर्नेमा नै केन्द्रित पनि देखिन्छ । तर, नारायणकाजीको आफू केन्द्रित महत्वाकाँक्षाले नेतृत्व र पार्टीमा नै समस्या थपिरहेको छ । 

गत वैशाख २० को सचिवालय वैठकमा गुटबन्दी नगर्ने पार्टीको सर्वसम्मत निर्णयमा सबैभन्दा बढी र चर्को स्वरमा समर्थन गर्ने नारायणकाजी नै थिए । तर, त्यसको लगत्तै फेरि उनले आफ्नो निवास हात्तिवनमा अध्यक्ष ओली विरुद्ध लक्षित गरी आफैले गुटको भेला गरे । सचिवालय वैठकका निर्णय, मर्म र स्पिरिटको धज्जी उडाए, अवज्ञा गरे । 

आफ्नो मन्त्री, उपप्रधानमन्त्री हुने व्यक्तिगत महत्वाकाँक्षा पूरा गर्नका लागि सचिवालय वैठकको आम सहमति आफ्नो पक्षमा सहायक नहुने देखेपछि उनी फेरि कोठे वैठकको आयोजक बने । प्रचण्ड लगायतका नेताहरु जानेर नजानेर त्यस्ता बिना तुकका गुट भेलाका अतिथि, सहभागी बने । चुनाव हारेर पनि राष्ट्रिय सभामा गइसके, सचिवालयमा छन्, प्रवक्ता बनेकै छन्, फेरि पनि उनैलाई पद प्रतिष्ठा पुगेको छैन र गुटबन्दीमा रमाउँदैछन् । यो भन्दा बढी उनको सत्तालोलुपताको निकृष्टता के हुन सक्छ ? आम पार्टी कार्यकर्ता र जनताका लागि यो लाजमर्दो प्रवृत्ति हो । 
 
सबैले बुझ्नुपर्ने गुदी कुरा के हो भने अहिलेसम्म नेकपाभित्र जे जति अन्तरविरोधहरु सतहमा आएका छन्, त्यसको विजारोपण नारायणकाजीले आयोजना गरेको हात्तिवन भेलाका उत्पादन हुन, प्रतिक्रिया र तरंगहरु हुन् । र, उनले सुरु गरेको यो गुट भेला पार्टीको एकता र सरकारको प्रभावकारिता वृद्धिका लागि होइन कि नेता नारायणकाजीको मन्त्री, उपप्रधानमन्त्री पक्का गर्ने निहित स्वार्थमा केन्द्रित रहेको सबैले बुझेका छन ।   यहाँ स्मरणीय के छ भने उनले तत्कालीन माओवादीमा पनि कहिले यता र कहिले उता गुट बनाएर अन्तरविरोध चर्काएर आफ्नो हितमा लाभ लिन सदैव सफल नै रहे । 

प्रधानमन्त्री बन्ने वामदेव हठ

नेकपाको आन्तरिक राजनीतिमा, खासगरी पूर्व एमालेको समिकरणमा वामदेवको योगदान र भूमिका बढी नै थियो होला । तर, सत्तामा जान उनलाई पार्टीले होइन, जनता र संविधानले यसपटक इजाजत दिएनन् । चुनाव हारेको मान्छेलाई प्रधानमन्त्री बनाउनु पर्ने वाध्यतामा नेकपा जस्तो विशाल पार्टी छैन । यो संवैधानिक पनि होइन, जनादेशको सम्मान पनि होइन । आफू नाच्न नजान्ने तर आँगन टेढो देख्ने र उधारोमा प्रधानमन्त्री बन्न चैते हुरी जस्तो कहिले ओलीको त कहिले प्रचण्डको साखुल्य बन्ने वामदेव प्रवृत्ति अहिलेको पार्टी र सरकारलाई काम कुरो एकातिर कुम्लो बोकी ठिमीतर पार्ने अर्को घातक समस्या हो । 

पार्टीमा काम गर्न र सरकारको रक्षा गर्न वामदेवलाई संठन बिभाग प्रमुख र उपाध्यक्ष पद पर्याप्त जिम्मेवारी हुन । तर उनलाई प्रधानमन्त्री नै हुनुपर्ने जुन रोग लागेको छ, त्यो च्याप्टर नै बन्द गर्न नेकपाको नेतृत्वले निर्मम निर्णय नगरे पार्टी वामदेवको सती जाने र अपुरणीय क्षति देश र जनताले व्यहोर्नु पर्ने खतरा छ । 

विष्णु पौडेललाई के पुगेन ?

केपी ओलीको पहिलो सत्ताकालका अर्थमन्त्री विष्णु पौडेल अहिले सरकारमा नरहे पनि उनी पार्टी महासचिवका रुपमा काम गर्न प्रशस्त मैदान पाएका नेता हुन । उनले आफूलाई सरकारको ढाल भएको देखाउन बिहान वालुवाटारमा तीन फन्को लगाउने र दिउँसो नारायणकाजीहरुको भेलामा फेरि सहभागी हुने द्वैध चरित्र देखाउँदै आएका छन् । उनी निर्वाचित महासचिव होइनन । पार्टी एकतामा उनको नाटकीय उदय महासचिवको रुपमा टीके पदका साथ भएको हो । आफ्नो औकात र भूमिका बिर्सेर उनी अध्यक्षद्वयका बीचमा फाटो ल्याउने र आफ्नो दुनो सोझ्याउने घृणित खेलमा लिप्त छन् । नेकपा संकटका एक अर्का सूत्रधार पौडेल प्रवृत्ति नै हो । 

, निकास तीनै प्रवृत्तिलाई ब्रेक

घनाजंगलको बीचमा पुगेर बाटो बिराइयो भने फर्केर जंगल प्रवेश गरेको ठाउँमा पुगेर बाटो तय गर्नुपर्छ भन्ने गिरिजाप्रसाद कोइरालाको भनाइ, जीवन दर्शन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अहिलेको अन्तरसंघर्षमा पनि लागू गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले वहुकोणीय विवाद सिर्जना भएको छ । अहिलेको लडाईमा मूल नेतृत्वं कुहिराको काग जस्तै रुमल्लिएको छ । सचिवालयमा आफू केन्द्रित बहस भइरहेको छ । मार्गदर्शन गर्नुपर्ने, परिपक्व निर्णय गर्नुपर्ने सचिवालका नेताहरु वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विस्णु पौडेल विहान एउटा, दिउँसो एउटा र राति अर्को कुरा गर्दै पलपलमा मत बदलिरहेका छन् । कि त उनीहरुले तत्कालको सामाजिक र पार्टीका अन्तरविरोधहरु बुझेकै छैनन् कि त उनीहरु बुझेर नै आफ्नो महत्वाकांक्षालाई कता पट्टि उभिंदा गर्हौं हुन्छ भनेर तौलिरहेका छन् ।

तसर्थ, अध्यक्षद्वयले अब यी तीनै पात्र र प्रवृत्तिलाई चिनेर उनीहरुको असीमित महात्काँक्षामा व्रेक लगाउन सक्नुपर्छ । उनीहरुलाई सके सचिवालयबाट बिदा दिनुपर्छ । बिदा दिन नसक्ने हो भने सचिवालयमा अरु योग्य र सिनियर नेताहरुलाई थपेर यी तीन गलत प्रवृत्तिलाई कमजोर बनाउनुपर्छ । अध्यक्षद्वयले यी प्रवृत्तिलाई सुन्ने र निर्णय लिने क्रम रोक्नुपर्छ । अध्यक्षद्वयलाई मन पर्ने कुरा गर्ने र आफू दुबैतिर खेलेर पार्टी र सरकारलाई कमजोर र अलोकप्रिय बनाउने नारायणकाजी, वामदेव र विष्णु प्रवृत्ति नेकपाका ऐजेरु हुन्, यो प्रवृत्ति जरादेखि नै काट्न सके मात्रै नेकपाको भलो हुने निश्चित छ । अध्यक्षद्वयले बृहत पार्टी एकताको मर्म र भावना तथा दुई तिहाई बहुमत जनादेशको औचित्य पुष्टि गर्न निर्मम र कठोर निर्णय लिन सक्नुपर्छ ।

पार्टी र सरकारमा सहमति र एकता कायम गर्दै कोरोना महामारीका विरुद्ध लडनुपर्ने युगीन चुनौति सामना गर्न अध्यक्षद्वयमा अब पनि सदवुद्धि र विवेक पलाएन भने त्यो पार्टी, सरकार र व्यवस्थाकै लागि दुर्भाग्य हुने खतरा छ । बेलैमा चेतना भया ! २५ वैशाख २०७७