बाराको सुवर्ण सिमानामा भारतीयहरुद्वारा सशस्त्र प्रहरी पोष्ट तोडफोड 

बाराको सुवर्ण सिमानामा भारतीयहरुद्वारा सशस्त्र प्रहरी पोष्ट तोडफोड 

बारा, २५ वैशाख । बाराको सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गरेका छन् ।

सुवर्ण गाउँपालिका ३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले दिउँसो साढे १२ बजे आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतको हनुमान नगरबाट झन्डै एक सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरीको पोष्टमथि आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताए । 

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । दुईजना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले प्रवेश गर्न रोकेपछि ठूलो संख्यामा भारतीयहरु आएर आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी गराए । 

अहिले दुवै देशका सुरक्षाकर्मीहरु घटनास्थल पुगेको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा कलैयाबाट सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् ।