किसानलाई अनुदानमा धानको बीउ

किसानलाई अनुदानमा धानको बीउ

कैलाली–कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा ५०० मेट्रिकटन धानको बीउ वितरण शुरु गरिएको छ । धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले धानको बीउ वितरणको व्यवस्था मिलाएको हो ।
 
दुवै जिल्लाका २० स्थानीय तहका सहकारी र समूहलाई धानको बीउ खरिद र वितरणका लागि कार्यादेश दिइ धानको बीउ वितरणको व्यवस्था मिलाइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए । “सहकारी समूहलाई बिलका आधारमा धान बीउ खरिद र ढुवानी गरेवापतको रकम भुक्तानी गरिने छ”, उनले भने, “सहकारी समूहले बीउ खरिद र वितरणको काम गरिरहेका छन् ।”

 बन्दाबन्दीका बेला किसानको घरदैलोमै सेवा पु¥याउनका लागि सहकारी र समूहमार्फत बीउ खरिददेखि वितरणको काम भइरहेको उनको भनाइ छ । किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानका बीउ छनोट गरी वितरण गरिएको छ । माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरी पठाइएको छ ।
 
प्रतिपालिका ९स्थानीय तह० लाई २५० क्विन्टलका दरले समान आधारमा धानको बीउ वितरण गर्नका लागि बजेट परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयबाट मागमा आधारित कार्यक्रमअन्तर्गत बीउ खरिदका लागि रु एक करोड बजेट प्राप्त भएको छ । वितरण गरिएको बीउबाट १० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने कार्यालय प्रमुख भट्टले बताए । जसबाट १० हजार बढी किसान लाभान्वित हुने भएका छन् ।