डब्लुएचओ मार्फत ताइवान सहयोगका लागि अमेरिकी आह्वान किन?
काठमाडौ । अमेरिकाले ताइवानलाई विश्व स्वास्थ्य संगठन मार्फत सहयोग गर्न विश्वका करिब ६० देशलाई आग्रह गरेको छ ।
अमेरिकी कांग्रेसको विदेश मामिलासम्बन्धी समितिका अमेरिकी नेताहरूले विश्व स्वास्थ्य संगठन मार्फत सहयोग गर्न शुक्रबार आह्वान गरेका हुन् ।
कोरोनाभाइरस महामारी विरूद्धको लडाइँमा ताइवानलाई सघाउन यस्तो आग्रह गरिएको हो ।
ताइवानलाई संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी नियोग विश्व स्वास्थ्य संगठन डब्लुएचओको सदस्यता प्राप्त रहेको छैन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ चीनको पक्षधर भएको आरोप लगाइ उसलाई दिइने अमेरिकी सहयोग कोष नदिने घोषणा गरिसकेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओको सहयोग कोष कटौती गर्दा चुइँक्क नबोल्ने अमेरिकी सांसदहरूले ताइवानलाई सहयोग गर्ने आह्वानको पछाडि कारणबारे कतिपय पर्यवेक्षकहरूले प्रश्न तेस्र्याउन थालेका छन् ।
अमेरिकाले चीनविरूद्ध युद्धको माहौल सिर्जना गरिरहेको छ ।
तर अमेरिकी कांग्रेसको विदेश मामिला समितिका सदस्यहरूले विश्वका देशहरूले वैश्विक स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने बताए ।
यो समितिमा दुबै दलका सदस्यहरू रहेका छन् ।विश्वका साना ठूला देशहरूलाई डब्लुएचओ मार्फत ताइवानलाई सहयोग गर्न समितिले पत्र लेखेको छ ।
यसरी पत्र लेखिएका प्रमुख देशहरूमा क्यानाडा, थाइल्यान्ड, जापान, जर्मनी, ब्रिटेन, साउदी अरब र अस्ट्रेलिया लगायतका रहेका छन् ।
चीनले ताइवान आफ्नो भूभाग भएको स्वतन्त्र देश नभएको भन्दै आएको छ । यस कारण ताइवान राष्ट्रसंघीय नियोगहरूमा सहभागी हुन पाएको छैन् ।
ताइवानले डब्लुएचओका पदाधिकारीहरूसँग यस विषयमा बैठक गर्न खोजेको छ । तर चीनको प्रभावका कारण यो सम्भव हुन नसक्ने देखिएको छ ।
अमेरिकाले चीनसँगको तनावपूर्ण व्यवहारलाई बढाबा दिइ आएको छ ।
अमेरिकी नेताहरूले डब्लुएचओ मार्फत विश्वका ६० देशलाई सहयोगको आह्वान गराउनुको पछाडि ताइवानलाई स्वतन्त्र देशको रूपमा मान्यता दिलाउने निहित स्वार्थ रहेको देखिन्छ ।
चीनलाई समस्यामा पार्न अमेरिकाले हङकङमा चीन विरोधी प्रदर्शन जारी राखेको मात्रै होइन व्यापार युद्ध समेत अगाडि बढाइरहेको छ ।
अहिले आएर कोरोनाभाइरस चीनकै प्रयोगशालाबाट निर्माण भएको आरोपलाई दोह-याइरहेको छ । यसबाट अमेरिकाले एकातर्फ चीनलाई एक्लाउने अर्को तर्फ ताइवानलाई चीन विरूद्ध थप बलियो पार्ने नीति लिएको छ ।
प्रतिक्रिया