बन्दाबन्दीभित्रको वर्षा
पद्मप्रसाद शर्मा
विश्वव्यापी महामारीले सताइरहेको यो समयमा वर्षाले समेत अत्याधिक सताएको छ । यसलाई हाम्रो गाउँघरको भाषामा “लुतोमाथि पिलो थप” भन्ने गर्छन् । पहिले हरेकका शरीरमा लुतो देख्न पाइन्थ्यो । यसले शरीका अन्य भागमा भन्दा हात र जाँघमा बढी सताउने गर्दथ्यो । लुतो लाग्यो भने अरु काम गर्ने फुर्सदै हुँदैन । किनकि भएभरको समय यसैलाई कन्याउन लागउनु पर्ने । लुतो भएकोलाई पिलो उठ्यो भने कस्तो होला ? लुतोमाथि पिलो थप भनेको एउटाबाट सास्ती पाएर पार नपाउँदै अर्कोबाट सताइनुलाई भनेको होला । लुतो र पिलो एकै पटक भयो भने त्यसलाई कसैले भाग्यले ठगेको भन्ने गर्छन् । भाग्यमा विश्वास गर्नेहरुलाई त्यो भन्दा पर अर्को कुरा सोच्ने क्षमता समेत हुँदैन ।
यसपटक एक,दुुई मुुलुकलाई मात्र नभएर विश्वभर लुतोमाथि पिलो थप भएको छ । अहिलेसम्म पिलो नभोगेकाहरुले पनि केही समयभित्रै त्यो भोग्ने अवस्थामा पुुग्नेछन । किनकि विश्वका हरेक मुुलकमा यतिवेला बन्दाबन्दीको अवस्था छ । कसै कसैले केही खुकुलो पार्ने कुरा गरेका छन् । त्यो तत्काल धेरै सम्भव देखिदैंन । बन्दाबन्दीले उत्पादनमा ह्रास आउने छ अनि आर्थिक अभाव हुने छ । एकातर्फ कोरोना भाइरसबाट संक्रमित हुनु अर्कोतर्फ उत्पादन घट्नु जसका कारणबाट आवश्यक उपभोग्य बस्तुको अभाव हुनु । यसले अहिले दिएको बन्दावन्दीको कष्टभन्दा आर्थिक अभावले कम कष्ट दिने छैन । अहिले सबै राज्यको ध्यान कोरोना रोकथाममा रहेको छ । उत्पादनमा ध्यान दिएर पनि के गर्ने ? यसतर्फ ध्यान दिन आवश्यक त छ तर तत्काल खासै उपाय छैन । चतुुर राज्य सञ्चालकको ध्यान चारैतिर पुुगेको हुन्छ र पुुग्नु पनि पर्छ । अति संक्रमित मुलुकहरुमा यो समयमा ज्यान जोगाउन गाह्रो छ भने कतिवेला विभिन्न कृषिवाली उत्पादन गर्ने ? भएभरका उद्योगहरु समेत बन्दछन् । खाद्य उत्पादनका साथै उद्योगलाई आवश्यक कच्चा पदार्थको उत्पादनमा ह्रास आएको हुनाले अत्यावश्यक बस्तुमा महंगी बढ्न सक्छ । उत्पादन नहुुनु र कम उत्पादन हुनुुका कारणले अभाव हुनुु पनि लुुतोमाथि पिलो थपिए जस्तै हो ।
चाहे कृषिको कुरा होस चाहे उद्योगको कुरा होस सबैलाई सबैतिर प्रभाव पारेको अवस्था छ । कुुन समयबाट हामी उत्पादन वृद्धि गर्न सक्छौं भन्ने समेत कुनै निश्चय छैन । २०१९को डिसेम्वरदेखि चीनबाट देखिएको कोरोना भाइरस कोभिड १९,२०२०मे ८ तारेखसम्म विश्वका २२३ मुलुकमा फैलिइ सकेको छ । केही मुुलुकमा यसको प्रकोप केही कम हुँदै गए पनि धेरै मुलुकमा यसको प्रकोप कम हुन सकेको छैन । यसलाई नियन्त्रण गर्न विश्व एक भएको छ । तर यसको संक्रमण घटाउन हम्मेहम्मे परेको छ । विश्वका नामी राष्ट्रहरुले समेत यसबाट हुने क्षति घटाउन सकेका छैनन् ।
आरम्भका दिनहरुमा नेपालमा यसको प्रभाव खासै देखिएन । हामी स्वस्थ छौं र सुरक्षित छौं भन्ने लागेको थियो । कोरोनाकाट हामी संक्रमित हुँदैनौ भन्ने धेरैलाई लागेको थियो । सरासर हेर्दा हाम्रो मुलुक खासै संक्रमणमा पर्दैन भन्ने थियो । कोरोनाको प्रकोप नहुुनुुमा नेपालमा विभिन्न किसिमका जडीवुटी भएको हुनाले, हावापानी स्वस्थ भएको हुनाले र नेपालीले सरसफाइमा निकै ध्यान दिने गरेको हुनाले समेत नेपालमा यसको प्रभाव देखा पर्न सकेन भन्ने कुरा धेरेबाट सुन्नमा आयो । अन्य मुुलुकको संक्रमित र क्षति भएको संख्या हेर्दा हामी कोरोनाबाट मुक्त थियौं तर जति दिनहरु वित्दै गए हामी उति उति संक्रमणमा त्रसित हुँदै जान लाग्यौं । विस्तारै संख्या थपिदै जान लागे । कोरोनाको संक्रमति संख्या यसरी बढ्दै आइरहेको छ कि एकै टोलमा दर्जन बढी संक्रमित भएका समाचार आउने लागे । हामी दिनहरु विताउन गाह्रो भएर एकान्तवासमा रहेको अवस्थामा बाह्य क्रियाकलाप गर्न सकेका छैनौ । त्यसमा थप छिमेकमा यसको प्रभाव आयो रे भन्ने सुन्दा सामान्य मन हुनेहरुलाई कस्तो भएको होला ? यो पनि लुतोमाथि पिलो थप जस्तै हो ।
हामीले चाहेर पनि तत्काल यसबाट पार पाउने अवस्थामा देखिदैन । तर यतिवेला मन दह्रो चाहिएको छ । यी पंक्तिहरु तयार पार्दासम्म नेपालमा १०९ जना संक्रमित संख्या छ भने २२जना उपचार पछि फिर्ता भएका छन् । त्यसमध्येमा पुनः तीन जना संक्रमित भएर अस्पताल पुुगेको खवर छ । उपचारपछि घर फर्केकाहरु पुुनः अस्पताल पुुगे भन्ने खवर सुन्दा यो पनि लुतोमाथिको पिलो थप जस्तो लाग्यो । एक पटक कोरोनाले संक्रमित भएकाहरु उपचारपछि स्वस्थ भए भन्ने सुन्दा मनमा कति हर्ष लागेको थियो । अव बाँकीहरु पनि छिट्टै घर फर्कने छन् भन्ने लागेको थियो तर पुुनः उनीहरु नै अस्पताल पुुगे भन्ने सुन्दा झन त्रसित हुने अवस्था आयो । न त यति दिनभित्र यसको संक्रमणबाट बच्न सकिन्छ भन्ने कुनै निश्चय छ न यसको उपचार विधि नै छ । यस्तो अवस्थामा कारोेनाबाट बच्ने सबैभन्दा राम्रो विधि भनेको एकान्तवास रहेछ । एकातर्फ भाइरस नियन्त्रण गर्न गाह्रो हुनुु अर्को तर्फ एकान्तवासको पालन गर्न गाह्रो हुने छिमेकी देख्दा यो पनि हाम्रो लागि लुुतोमाथिको पिलो जस्तै लाग्छ । एकान्तवासको पालना नगर्नाले हुने नोक्सानको वारेमा सुनेर पनि आफूलाई नियन्त्रण गर्न नसक्नेहरु वास्तवमा परिवार, समाज र देशकै पिलो हुन । उनीहरु जतिसुकै नजिकका नातेदार भए पनि उनीहरु कसैका पनि मित्र हुन सक्दैनन् । हरेक जना उनीहरुबाट सचेत हुन आवश्यक छ ।
यो समयमा एकातर्फ कोरोनाका कारणले लकडाउनमा बस्नु परेको छ । यसका कारण उत्पादनका कुनै पनि कार्य हुन सकेका छैनन् । यसले भोलिको दिनमा हुने अभाव एकातर्फ छ भने अर्कोतर्फ आफूलाई नियन्त्रण गर्न नसक्नेहरुबाट कोरोनालाई नियन्त्रण गर्न गाह्रो भइ रहेको छ । अहिले नेपालमा कोरोनाको संक्रमण बढी भएको अन्य कुनै कारण छैन । एकान्तवासमा बस्न नसक्नेहरुबाट यो एकजनाबाट अर्कोमा सर्दै आएर १०९ जना संक्रमितहरु देखिएका छन् । परोक्ष रुपमा यो भन्दा धेरै संख्या हुन सक्दछ । यो वर्ष वर्षाले भएको नोक्सान कम छैन । हावाहुरी, असिना र चट्याङले धनजनको क्षति भएको छ । यसले पु¥याएको क्ष्तिको मात्रा अत्याधिक रहेको छ । कोरानाबाट बच्न एकान्तवास अपनाएका छौं तर वर्षाबाट हुने क्षतिबाट बच्न अहिलेसम्म उपाय खासै छैन । हाम्रा लागि वेमौसमको वर्षा लुतोमाथिको पिलो बनेको छ । यो वर्षा र कोरोना हाम्रा लागि उस्तै उस्तै जस्तै भएका छन् । घोराही १५,दाङ, २७ वैशाख २०७७
प्रतिक्रिया