विदेशी बुट बज्रेको सह्यौ नेपाली छातीमा...
काठमाडौं, २८ वैशाख ।
एक मुठ्ठी साहस छैन कि आज यो वीर जातीमा
विदेशी बुट बज्रेको सह्यौ नेपाली छातीमा...
लिपुलेक पटक पटक बल्झिईरहने घाउ बनेको छ । भारतले यो घाउ पटक पटक कोट्याएर नेपालीहरुको मन मुटु मात्र घाइते बनाएको छैन, नेपाली राष्ट्रिय स्वाभीमानमाथि नाङ्गो प्रहार गरेको छ । भारतजस्तो बिस्तारवादी छिमेकी मुलुक भएपछि नेपाल सयौँ ठाउँमा सीमा मिचिँदा पनि सहेर बस्न बाध्य छ । यो नेपाली जनताको कमजोरी होइन । कमजोरी सरकारको हो ।
सडकमा हुँदा राँको बालेर चेतनाको झिल्को झोस्नेहरु जव सत्ताको कुर्सीमा पुग्छन् तव विवेक र स्वाभीमान गुमाउँदा नेपाल र नेपाली जनताले ठाडो शिर पार्न सकिरहेका छैनन् । नेपाली राष्ट्रयताका बिरुद्ध भरतीय योजनाबद्ध आक्रमण नेपाली स्वाधीनतामाथिको सीधा अतिक्रमण हो । यसका लागि समग्र नेपाल र नेपालीहरु दलगत स्वार्थभन्दा माथि उठेर अन्तराष्ट्रिय जगतमै पुगेर कुटनीतिक तरिकाले समस्या समाधान गर्न ढिला भइसकेको छ ।
यही सन्दर्भमा जनवादी गायक जीवन शर्माले करिव दुई दशक अघि रेकर्ड गरेर जनताको गाउँ, बस्ती र झुपडीहरुमा परिचित गीत पुनः सन्दर्भीक बनेको छ ।
सुस्ता महेशपुरा , माने भञ्ज्याङ, कालापानी लिपुलेक, लिम्पियाधुरा लगायत सयौं ठाउँमा चहराइरहेको अतिक्रमणको घाउ पुनः बल्झिएको छ । यस्तै सन्दर्भमा रचना गरिएको यो गीत यस्तो :
मुटुमा संगीन रोपेछ त्यहाँ विदेशी गस्तीले
कसरी सह्यौ दुःख र पिडा नेपाली वस्तीले
कसरी हेर्यौ नेपाली आँगन रगतले भिजेको
कसरी सह्यौ विदेशी गोली मुटुमा बिजेको...
एक मुठ्ठी साहस छैन कि आज यो वीर जातीमा
विदेशी बुट बज्रेको सह्यौ नेपाली छातीमा...
प्रतिक्रिया