भारतले अतिक्रमण गरेको विषय कूटनीतिक तहबाट समाधान गर्नुपर्छः गृहमन्त्री बादल

भारतले अतिक्रमण गरेको विषय कूटनीतिक तहबाट समाधान गर्नुपर्छः गृहमन्त्री बादल

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापा बादलले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयको कूटनीतिक तहबाट विवाद समाधान गर्नुपर्ने बताएका छन् । उनले ६ दशक अघिदेखि नै झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गर्दै आएको बताउँदै अहिले मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको जानकारी दिए ।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै उनले भने, 'भारतले मानसरोवर जाने बाटो उद्घाटन गरेपछि नेपाल फेरि तरंगित भएको छ । यससम्बन्धमा यसको विरुद्धमा विभिन्न ठाउँमा आवाज पनि उठाएर आन्दोलन पनि भयो',उनले भने, 'यो समस्या उत्पन्न भएको छ त्यो समस्या नयाँ होइन । भूभाग मुक्त गर्न र भारतीय सेना फर्काउनका निम्ति नेपाली जनता र नेपाल सरकारले आवाज उठाउँदै आएका छन् ।

बैठकमा गृहमन्त्री थापाले गतवर्ष भारतले नयाँ नक्सा जारी गर्दै नेपाली भूमिलाई पनि आफ्नो दाबी गरेपछि त्यसविरुद्ध पनि नेपालमा आन्दोलन भएको र सरकारले पनि विरोध जनाएको स्मरण गराए । 'अहिले पनि मानसरोवर जाने बाटोको बारेमा सरकारले विरोध जनाइसकेको छ । यो विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ भन्दै आएको हो', उनले भने, 'अहिले पनि कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ भन्दै आएको छ । अहिले नेपाली जनताले पनि त्यो कुरा भन्दै आएका छन् ।'

उनले सीमा सुरक्षाको निम्ति सो क्षेत्रमा नेपाली सुरक्षा निकायलाई तैनाथ गर्ने र अहिले छाङरुमा बीओपी राख्ने भन्ने तयर भएको छ जानकारी दिए। यस्तै सो क्षेत्रमा बाटो पनि नभएकाले बाटो निर्माण कार्य पनि चलिरहेको उनले बताए ।

१५ मे २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरूबीच भएको सम्झौताको २८ औं बुँदामा लिपुलेक भएर चीनको तिब्बतमा रहेको मानसरोवर जाने सडक निर्माण गर्ने र त्यसलाई दुई देशबीच व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति भएको थियो ।