'सीमा विवाद अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लगिहाल्ने बेला भयो कि भएन सोचिहालौं'

'सीमा विवाद अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लगिहाल्ने बेला भयो कि भएन सोचिहालौं'

काठमाडौँ, २८ वैशाख । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतले सीमा विवाद कूटनीतिक ढंगबाट समाधान गर्न नचाहेमा नेपालले त्यसभन्दा अगाडि कस्तो बाटो अपनाउने हो भन्ने निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । 

भारतले नेपालको लिपुलेक भएर चीनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माण गरेको विषयमा छलफल गर्न आयोजित प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा दाहालले सकेसम्म कूटनीतिक र उच्च राजनीतिक तहबाट समस्या समाधान हुनुपर्नेमा जोड दिए ।

दाहालले भने, 'उच्च राजनीतिक र कूटनीतिक माध्यमबाट समस्या समाधान नहुने हो भने के गर्ने भन्ने निष्कर्षमा नेपाल पुग्नुपर्छ ।'

भारतले लिपुलेक भएर चीन जाने सडक निर्माण गरेसँगै सीमा विवादमा चीन पनि जोडिन आइपुगेको दाहालको भनाइ थियो । 'लिपुलेकको अहिलेको समस्यापछि यो सीमा समस्या त्रिदेशीय बन्न गएको छ । भारत र चीनबीच व्यापारिक सम्झौता भएको हुनाले पनि यो त्रिदेशीय बन्न पुगेको हो,' दाहालले भने । उनले यो समस्या समाधानमन तीनवटै देशको समझदारी हुनुपर्ने बताए । लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाका बनाउन सकिने उनको भनाइ थियो ।

सांसदहरूले सीमा विवादको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग समिति बैठकमा उठाएका थिए । सत्तारुढ दलको अध्यक्षको तर्फबाट भन्दै जवाफमा दाहालले अहिले नै त्यता लाग्ने बेला नभएको बताए । 'अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लगिहाल्ने बेला भयो कि भएन सोचिहालौं,' उनले भने । भारतले विवगतदेखि नै लिपुलेक, लिम्पियाधुरा रा कालालापानी आफ्नो नक्सामा राख्दै आएकोमा सुगौली सन्धियता नेपालमा रहेको भूमागलाई फिर्ता ल्याउन पहल हुनुपर्ने उनको भनाइ थियो ।