भारतसँग तत्काल भिडियो वार्ता गरः माधव नेपाल 

 भारतसँग तत्काल भिडियो वार्ता गरः माधव नेपाल 

काठमाडौं, २८ वैशाख । पूर्व प्रधामन्त्री तथा नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न माग गरेका छन् ।

भारतले महामारीको मौका छोपेर लिपुलेक अतिक्रमण गरेकाले महामारी अन्त्य होस् भनेर पर्खन नहुने नेता नेपालको भनाइ छ ।

नेकपा विदेश विभाग प्रमुखको हैसियतमा उनले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्,'कोभिड–१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको मौका छोपेर गरिएको अतिक्रमणसम्बन्धमा छलफल गर्न महामारीको अन्त्य नकुरी भिडियो कन्फ्रेसन्सबाट कुराकानी गर्न हामी विशेष ध्यानाकर्षण गराउँछौं,।'  नेता नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘आफ्नो मुलुकको सम्पूर्ण भूभागसहित आधिकारिक नक्सा प्रकाशन गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं। '

देशको भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्न पनि नेता नेपालले माग गरेका छन् । सीमाको नियमित नियम र विकट सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूका लागि उचित प्रबन्ध गर्नुपर्ने आवश्यकता माथि नेपालले जोड दिएका छन् । उनले आधिकारिक नक्सा सार्वजनिक गर्न पनि माग गरेका छन् ।