कर तेब्बर बनाउने र खर्च घटाउने साउदी अरबको घोषणा
काठमाडौ । साउदी अरबले आधारभूत वस्तुमा कर तेब्बर बनाउन र खर्च घटाउने घोषणा गरेको छ ।
आधारभूत वस्तुमा १५ प्रतिशतले कर बढाउने र २६ अर्ब अमेरिकी डलर बराबरको खर्च प्रमुख परियोजनाहरूबाट घटाउने निर्णय साउदी अरबले गरेको हो ।
कोरोनाभाइरस र तेलको मूल्य न्यूनतहमा झरेकोले अर्थतन्त्रलाई ठूलो धक्का दिएकोले यो निर्णय गरिएको हो ।
साउदी नागरिकहरूलाई सन् २०१८देखि दिइने गरेको बोनस पनि कटौती गरिने त्यहाँका अर्थतन्त्रीले जनाएका हुन् ।तेलमा भर परेको अर्थतन्त्रमा विविधीकरण गर्ने प्रयास साउदीमा केही वर्ष यतादेखि गरिआएको हो ।
ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारल ३० अमेरिकी डलर वरिपरि रहेको छ । तेलको भाउमा आएको गिरावटले साउदीअरबको बजेट सन्तुलनलाई बिगारेको हो । कोरोनाभाइरसले साउदीको तीर्थस्थल मक्का र मदिनामा आउने मुसलमान तीर्थ यात्रीको आगमनबाट हुने राजस्व पनि यो वर्ष गुमेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले अरब खाडीका ६ ऊर्जा त्पादक देशहरूमा यो आर्थिक मन्दी हुने पूर्वानुमान गरेको छ ।
साउदीका वित्तमन्त्री मोहम्मद अल जादानले भने “आधुनिक इतिहासमा यस्तो अनिश्चिततापूर्ण संकट विश्वले कहिल्यै सामना गर्नुपरेको थिएन् ।” अपनाइएका मापदण्डले वित्तीय तथा आर्थिक सन्तुलन कायम गर्न आवश्यक भएकाले अपनाइएको उनले जनाए ।
सन् २०२०को पहिलो त्रैमासिकमा साउदीको राजस्व गत वर्षको तुलनामा २२ प्रतिशतले कमी आएको छ । तेलबाट हुने राजस्वमा सोही अवधिमा २४ प्रतिशतले घटेको छ । बजेट घाटा पूरा गर्न साउदी अरबले विदेश सम्पत्तिबाट २६.८ प्रतिशतले तानेको छ । दुई दशक भन्दा बढी समययता साउदी दु्रतगतिमा खुम्चेको हो ।
साउदी अरबमा कोरोनासंक्रमितको संख्या ३९ हजार पुगेको छ भने कोरोनाबाट मर्नेको संख्या २४६ जना रहेको छ । साउदीका युवराज मोहम्मद बिन सलमानको आर्थिक रूपान्तरण योजना भिजन २०३०का प्रमुख परियोजनाबाट २६ अर्ब अमेरिकी डलर बराबरको कटौती गर्ने निर्णय गरिएको हो । सरकारले दिने गरेको जीविका भत्ताको लागत वार्षिक १३.५ अर्ब अमेरिकी डलर बराबरको हुने गरेकोमा यो भत्ता जुन महिना देखि कटौती गरिनेछ ।
मूल्य अभिवृद्धि कर ५ प्रतिशतबाट जुलाई महिना देखि १५प्रतिशतसम्म गरिने भएको छ ।
जीविका भत्ता भने निर्धनतम साउदीहरूका लागि निरन्तर दिइने छ ।गरिवतम साउदीको खातामा ५० करोड बढी रकम जम्मा गरिसकिएको सरकारले जनाएको छ ।
प्रतिक्रिया