नेपालले भारतलाई पठायो कूटनीतिक नोट, परराष्ट्र मन्त्री र भारतीय राजदूतवीच भेट

नेपालले भारतलाई पठायो कूटनीतिक नोट, परराष्ट्र मन्त्री र भारतीय राजदूतवीच भेट

काठमाडौं, २९ वैशाख । नेपाल सरकारले भारतलाई आज कूटनीतिक नोट पठाएको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारत सरकारलाई कूटनीतिक नोट पठाएका हुन् । 

मन्त्री ज्ञवालीले आज नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालाई कूटनीतिक नोट हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।

भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि उत्पन्न विवाद अन्यत्र सबैतिरको सीमा विवादको समाधानको पहल गर्दै नेपाल सरकारको तर्फबाट कूटनीतिक नोट पठाएको जनाएको हो । कूटनीतिक नोटमा मन्त्री ज्ञवालीले सीमा विवादका बिषयमा नेपालको आफ्नो औपचारिक धारणा उल्लेख गरेका छन् । 

मन्त्री ज्ञवाली र राजदूत क्वात्राका बीचमा शान्तिपूर्ण वार्ता मार्फत विवाद समाधान गर्न आवश्यक पहल गर्ने बिषयमा छलफल भएको जनाइएको छ । भारतले नेपालको भूभाग लिपुलेकहुँदै मानसरोवर जाने बाटो बनाएर उदघाटन गरेपछि सीमा अतिक्रमणको विवाद थप चुलिएको हो । विवादको समाधान गर्न थप उच्चस्तरीय पहलको तयारी समेत भइरहेको जनाइएको छ ।