थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ जना

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ जना

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६जना र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

आज साँझ दिइएको जानकारी अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका– ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
आजै विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने सप्तरीमा पनि एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्याङ्क अनुसार कपिलवस्तुमा एकैचोटी १६ जनालाई कोरोना संक्रमण पुष्टि भएसँगै पछिल्लो  समय कोरोना संक्रमणको अर्को इपिसेन्टर बनेको छ भने रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

आज बर्दियामा समेत पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १३४ पुगेको छ ।