क्वारेन्टाइनबाट घर फर्केको युवामा कोरोना संक्रमण, पुरै परिवार आईसोलेसनमा

क्वारेन्टाइनबाट घर फर्केको युवामा कोरोना संक्रमण, पुरै परिवार आईसोलेसनमा

सप्तरी । सप्तरीमा पनि एक जना युवामा कोरोना संक्रमणको पुष्टी भएपछि जिल्लामा सुरक्षा सर्तकर्ता बढाईएको छ । केही दिनदेखि लक डाउन खुकुलो बनाईएको सप्तरीमा आज साँझबाट लक डाउन कडा बनाईएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा आज  कोरोना संक्रमणको पुष्टि भएसँगै जिल्लामा त्रास उत्पन्न भएको छ । चितवनमा भवन निर्माणका लागि मजदुरीमा खटेका ती युवा लकडउनकै समय गत बैशाख ९ गते पैदल यात्रा गरि सप्तरीस्थित घर आईपुगेका थिए । अन्य १३ जना साथी सहित घर फर्केका ती युवालाई पातोस्थित माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो । 

बैशाख २५ गते थ्रोट स्वाब संकलन गरि परिक्षणका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा ७ जनाको रिर्पोट प्राप्त भएको र सोही रिर्पोटमा ती युवामा कोरोना संक्रमण देखिएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. चुमन लाल दासले जानकारी दिए । १४ दिन क्वारेन्टाइनमा राखेपछि ती युवाहरुलाई दुई दिन अघि घर पठाईएको थियो । घर गएको भोली पल्टै ती  युवाको रिर्पाेट पोजेटिभ आएपछि गाउँमा अहिले त्रास फैलिएको छ । रिर्पोट आए लगतै अहिले सो वडालाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए ।

मुस्लिम समुदायको रामजान पर्व चलिरहेका बेला संक्रमित युवक हजुर बुवा र हजुर आमा सित घरमा बसेको अवस्थामा आज प्रहरीले फेला परेको छ । युवकका बुवा, आमा, हजुर बुवा, हजुर आमा र एक जना साथी सहित ६ जनालाई प्रहरीले चिकित्सकको निगरानीमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतलामा ल्याएको प्रहरी नायब उपरिक्षक भारतीले बताए ।