कोभिड–१९को ‘बथाने प्रतिरोधी’ बाटो ‘क्रुर अंकगणित’ हुने डब्लुएचओको चेतावनी

कोभिड–१९को ‘बथाने प्रतिरोधी’ बाटो ‘क्रुर अंकगणित’ हुने डब्लुएचओको चेतावनी

काठमाडौ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस कोभिड–१९को उपचार र उपायको रूपमा   ‘बथाने प्रतिरोधी’(हर्ड इम्युनिटी)को बाटो खोजे त्यो ‘क्रुर अंकगणित’ हुने चेतावनी दिएको छ ।

भ्याक्सिनको अनुपस्थितिमा  कोरोनाभाइरस महामारीलाई नियन्त्रणमा लिन ‘बन्दाबन्दी’को ठाउँमा  ‘बथाने प्रतिरोधी’ अपनाउने विषयमा बढदै गएको बहस प्रति चिन्ता जनाउँदै डब्लुएचओका एक बरिष्ठ अधिकारीले यो विनासकारी गलत आँकलन हुन सक्ने चेतावनी दिएका हुन् ।

डब्लुएचओ आकस्मिक स्वास्थ्य कार्यक्रमका प्रमुख माइकल रेयानले भने “ यो वास्तवमै एक खतरनाक  गणित हो ।”

चेतावनी दिँदै रेयानले भने “ मानिसहरू बथाने(हर्ड) होइनन् । यो विधि मानिसहरूमा लागु गर्नु एक क्रुर अंकगणित तर्फ डो-याउन सक्छ जसले मानिस, जीवन र कष्टलाई  समीकरणको केन्द्रमा राख्दैन् ।”

‘बथाने प्रतिरोधी’ पदावली पशु चिकित्सा र प्रारम्भिकरूपमा  जनसंख्याको समग्र स्वास्थ्यको विषयमा ध्यान दिइने अवधारणा बाट उत्पन्न भएको र मानिस जस्तो जनावरको सन्दर्भमा लागु नहुने उनको भनाइ छ ।

कुनै जनसंख्याको ठूलो संक्रमित हिस्सामा प्रतिरोधी क्षमता बढाउन उपयोगमा ल्याउने प्रस्तावना आधारित यो विचार हो । त्यसैले  बिना भ्याक्सिन यस्तो प्रतिरोधी बाटो अँगाले त्यसको ठूलो मूल्य चुकाउनु पर्ने  उनले जनाए ।

वैज्ञानिकले समाजमा कति जनालाई खोप दिँदा सबैलाई प्रतिरोधी क्षमता पुग्ने विषयको सही आँकलन भएबेला मात्र बथाने प्रतिरोधी प्रयोगमा ल्याउन सकिने उनको भनाइ थियो । 

तर डब्लुएचओका अधिकारीले यो विषयमा कुनै पनि देशलाई कुनै आह्वान भने गरेनन् ।

विज्ञप्तिमा स्विडन लगायतका देशहरूले तिनका विज्ञहरूले दिएको सल्लाह अनुसार बन्दाबन्दी छोडेर बथाने प्रतिरोधी अपनाउने विषयमा आपत्ति भने जनाइएको छ ।

अमेरिका लगायतका केही सञ्चार माध्यममा बथाने प्रतिरोधीको विषयमा चर्चा भइरहेको पाइन्छ । अमेरिकामा १३ लाख बढी संक्रमितको संख्या र मर्नेको संख्या ८० हजार नाघि सकेको छ ।