कपिलवस्तुमा कोरोना संक्रमित बढेपछि अर्घाखाँची अनिश्‍चितकालका लागि सिल 

 कपिलवस्तुमा कोरोना संक्रमित बढेपछि अर्घाखाँची अनिश्‍चितकालका लागि सिल 

अर्घाखाँची, ३० वैशाख । कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि छिमेकी जिल्ला अर्घाखाँची उच्च जोखिममा रहेको छ । मंगलबार बिहानैदेखि प्रशासनले जिल्लालाई पूर्णरुपमा अनिश्‍चितकालका लागि सिल गरेको छ ।
कपिलवस्तुका विभिन्न क्षेत्रमा संक्रमण देखिएपछि सुरक्षा समिति बैठकले नयाँ निर्णय गर्दै आउजाउ बन्द गरेको हो । सोमबार एकैदिन कपिलवस्तुमा १० जना कोरोना संक्रमित फेला परेका थिए ।

कपिलवस्तुबाट अर्घाखाँची आउने पैदल यात्रु र अत्यावश्यक बाहेक अन्य गाडीलाई भित्रिनबाट रोक्न जिल्ला भित्रिने सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत सीमा क्षेत्र पथ्थरकोट र सीमा जोडिएका अन्य ठाउँमा बिहानैदेखि प्रहरी परिचालन गरेको छ । शीतगंगा नगरपालिकाको कपिलवस्तुसँग सीमा जोडिएका गाउँमा स्वयंसेवक परिचालन भएका छन् ।

'कपिलवस्तुमा संक्रमणको संख्या बढ्दै गएपछि अर्घाखाँची उच्च जोखिममा रह्यो, सतर्कता अपनाउन आउजाउ पूर्णरुपमा रोक्ने, लकडाउन प्रभावकारी बनाउने र सीमा क्षेत्रमा कडाई गर्ने निर्णय गरेका हौं,' सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविष्णुराज बेल्वासेले भने । मुख्य बाटो छलेर जंगलबाट आउने संभावना भएकाले नाकामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । साथै पाल्पा, गुल्मी र प्युठानका सीमा क्षेत्रमा पनि निगरानी बढाइएको छ ।