सभामुखले ल्याएको ३० खर्ब डलरको राहत प्याकेज ट्रम्पले मान्लान् ?

 सभामुखले ल्याएको ३० खर्ब डलरको राहत प्याकेज ट्रम्पले मान्लान् ?

काठमाडौ ।अमेरिकाको  प्रतिनिधि सभाका सभामुख तथा डेमोक्रेट्स नेता न्यान्सी पेलोसीले ३० खर्ब बढी अमेरिकी डलर बराबरको कोरोनाभाइरस अनुदान प्याकेज विधेयक अनावरण गरेकी छिन् ।

हरेक अमेरिकीलाई १२०० अमेरिकी डलर नगद र प्रति घरपरिवार ६ हजार अमेरिकी डलर नगद दिने गरी यो विधेयक ल्याएकी छिन् ।

द हिरोज एक्ट नाम दिएको यो विधेयकले मजदुरहरूलाई संकटकालीन भुक्तानीका लागि अर्को २० अर्ब अमेरिकी डलर बराबरको प्रावधान गरिएको छ । ७५ अर्ब डलर भन्दा बढी भाइरस परीक्षणको लागि छुट्टयाइएको छ ।

यो विधेयकमा शुक्रबार मतदान हुने भएको छ ।

तर यो विधेयक सिनेटमा गएर रोकिने देखिएको छ । त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत छ । रिपब्लिकनहरूले जुनअघि सम्म कुनै नयाँ राहत प्याकेजमा मतदान गराउन सहमत देखिएका छैनन् ।

सिनेटमा बहुमत पक्षका नेता मिच म्याककोनेलले आकस्मिक कानुनको कुनै आवश्यकता नभएको बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले करिब ३० खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजमा अनुमोदन गरिसकेका छन् ।

रिपब्लिकन नेताले डेमोक्रेटले ल्याएको आवश्यक विधेयकलाई ‘आफ्नो प्राथमिकतालाई पूरा गर्न ल्याइएको’ भनी टिप्पणी गरेका छन् ।

तर प्रतिनिधि सभाका सभामुख पेलोसीले भोकाको पेट प्रतिक्षा गर्न नसक्ने भन्दै यो विधेयक आवश्यक भएको दाबी प्रस्तुत गरेकी हुन् ।

पेलोसी पक्षधर सांसद प्रमिला जयपालले वार्षिक १ लाख भन्दा कम कमाउने परिवारका लागि तीन महिनासम्मको तलब उपलब्ध गराउने यो विधेयकमा प्रावधान गरिएको बताएकी छिन् ।