जनअभिमत भनेको जनमत संग्रह होइन : उपेन्द्र यादव

जनअभिमत भनेको जनमत संग्रह होइन : उपेन्द्र यादव

काठमाडौं । उप प्रधान तथा स्वास्थ्यमन्त्री एवम् संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनअभिमत भनेको जनमत संग्रह नभएको बताएका छन् । यादवले भनेका छन्, ‘जनअभिमत भनेको अभिव्यक्ति हो, जनसंघर्ष हो, निर्वाचन हो । तर, जनमत संग्रह भनेको अर्कै विषय हो ।’

सोमबार राति कान्तिपुर टेलिभिजनसँग कुराकानी गर्दै यादवले भने, विखण्डनमा लैजाने, आत्मघाती कदमलाई सच्याएर सी के राउतहरु आउनु भएको छ, त्यो राम्रो हो । मुलुकको सार्वभौमिकता, अखण्डतालाई अक्षुण्ण राख्दै अधिकारका लागि लड्ने कुरा, आन्तरिक विभेदको लडाईं गर्ने कुरालाई मान्नु राम्रो भएको छ । 

सम्झौताको विषयमा समीक्षा हुन बाँकी रहेको बताउँदै तत्काल राउतले विगतको बाटोलाई गल्ती स्वीकार गरेर आउनुलाई राम्रो मान्नुपर्छ । 

राजनीतिक समस्यालाई कानुनी ढंगले होइन राजनीतिक ढंगले हल गर्नुपर्ने विचार यादवले राखे । रेशम चौधरीको विषयमा कानुनी हल गर्ने कुराप्रति उनले असन्तुस्टि व्यक्त गरे । 

अनुहार हेरेर अदालतको फैसला हुने हो भने न्यायको अपहरण हुने पनि यादवको भनाइ रहेको छ । 

राजनीतिक नियुक्तिमा प्रधानमन्त्रीले रोकेकोमा घुमाएर उनले असन्तुस्टि व्यक्त गरे ।