भक्तपुरमा दुई र काठमाडौंमा एकजनालाई कोरोना पुष्टि

भक्तपुरमा दुई र काठमाडौंमा एकजनालाई कोरोना पुष्टि

काठमाडौं, १ जेठ ।  काठमाडौं उपत्यकामा फेरि कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भक्तपुरमा दुईजना र काठमाडौंमा एकजनालाई कोरोना भाइरस संक्रमण देखिएको हो।

अधिकारीका अनुसार भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तैगरी काठमाडौंकी ३३ वर्षीया महिलालाई पनि कोरोना देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकाका यी तीन लगायत २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि काठमाडौंमा तीनजनालाई कोरोना पुष्टि भएको थियो।

काठमाडौंको मैतीदेवीकी युवतीलाई सबैभन्दा सुरुमा कोरोना पुष्टि भएको थियो। फ्रान्सबाट आएकी उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिन लामो उपचारपछि सन्चो भएर घर फर्किएकी छन्। 
त्यसपछि पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टका दुईजनामा कोरोना संक्रमण देखिएको थियो। जसमध्ये एकजना निको भइसकेका छन् भने एकजनामा कोरोना दोहोरिएपछि पाटन अस्पतालमा उपचार भइरहेको छ।