छ्या नारायणकाजीको नखरा.....

छ्या नारायणकाजीको नखरा.....

सञ्चार लाल

नेपाली वाम राजनीतिमा सबैभन्दा बढी नखरा पार्ने पात्र हुन् उनी । नेपालको वामपन्थी राजनीतिमा संघर्षको स र त्याग, वलिदानको भेदीमा सुको दान नगरेका शिखर पात्र पनि उनै हुन् । सर्वहारा वर्गका राजनीति गर्ने नाममा सधै सुकिला मुकिला र भरिला जिउडाल, जीवनशैली जिउने त उदाहरणीय पात्र नै परे उनी । उनी आफूलाई जोगी चित्रित गराउन रुचाउछन् तर भोगी र विलासी कामरेडको सूचीमा उनको नाम अग्रपंक्तिमा छ ।


हो, हजुर हो, गरीव, दुःखी, शोषित पीडित सर्वहारा वर्गका जनताको नाममा वामपन्थी राजनीति गर्ने र राजसी जीवन शैलीमा अभ्यस्त सुकिला कामरेड हुन् कमरेड नारायणकाजी श्रेष्ठ । सधै कुनै न कुनै बहाना, फण्डा निकालेर चर्चामा आउन रुचाउने नारायणकाजी अचेल सत्तारुढ नेकपाका प्रवक्ता छन् । 


गोरखामा आफ्ना पूर्व सहकर्मी डा. बाबुराम भट्टराईसँग चुनाव हारेर पनि उनी चोर बाटो हुँदै अहिले राष्ट्रिय सभाको सदस्य बनिसकेका छन् । माओवादीकालीन सत्ता यात्रामा विभिन्न मन्त्रीदेखि उपप्रधानमन्त्री समेत भइसकेका उनै सुकिला काजी फेरि ओली सरकारमा उपप्रधान तथा परराष्ट्र मन्त्री पाउनका लागि अहिले अनेकौं तिकडम गरिरहेका छन् ।


सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाओस भन्ने कामनाका साथ सुकिला काजीले वुधवार मात्रै आफ्ना लागि सरकारले उपलव्ध गराएका सुरक्षाकर्मी फिर्ता लान सरकारलाई अनुरोध गरे । नारायणकाजीका अघि पछि लागेका केही थान सुरक्षाकर्मीको कमजोरीका कारण नेपाली भूमि लिपुलेकमा भारतले सीमा मिचेर नेपाल खाएको होइन, चीनको मानसरोवर जोड्ने बाटो बनाएको पनि होइन । यो भारतको साम्राज्यवादी, बिस्तारबादी चरित्रको नयाँ रुप मात्रै हो । तर, यही मौकामा चर्चा कमाउन नारायणकाजीले आफ्ना केही थान सुरक्षाकर्मी फिर्ता गरेको ट्वीटे उदघोष गरे । मिडियामा हिट बने ।

जबकि पूर्व भीभीआईपी तथा भीआईपीहरुका सुरक्षाकर्मी फिर्ता गराउन उनले गृहमन्त्रालयलाई पत्राचार गरेनन् । यस्तो सुविधा फिर्ता गराउने नीति, विधि उनले पार्टी कमिटीका वैठकहरुमा लगेनन् । सरकारलाई यस्तो नीतिगत सुधारका लागि सहयोग र सहकार्य पनि गरेनन् । तर, मिडियामा हिरो हुने रोगले ग्रस्त नेता नारायणकाजीले लगातार लोकप्रिय हुने ट्वीट गरेर चर्चाको प्यास मेटाइरहेका छन् ।


यसरी, उसरी, जसरी, कसरी अहिले नारायणकाजीलाई सत्ता चाहिएको छ । चर्चा चाहिएको छ । यसका लागि उनी अहिले लगातार पार्टी एकताका याचना गर्छन, त्यो पनि ट्वीटमा । एउटा सत्ताधारी कम्युनिष्ट पार्टीका सचिवालय सदस्य, प्रवक्ता र पूर्व उपप्रधानमन्त्री लाजै नमानी तारन्तार गुटका भेला र कोटरी संचालन गर्छन नथाकुन्जेल । अनि लास्टमा करायो करायो दक्षिणा हरायो हुन लागेपछि हत्तपत्त ट्वीटमा हाजिर भएर पार्टी एकताका लागि गोहीका आँशु झार्छन । 

राजनीतिमा नैतिकता र लाज भन्ने जिनिसलाई तिलाञ्जली दिएका उनै सुकिला काजी नेकपाभित्र लौहपुरुष वीर गणेशमान र शन्त नेता किशुनजीको उत्तराधिकारी अरु कसैले भइदिनुपर्ने नमुना खोज्छन् । हिम्मत भए, त्याग गर्ने भए, नेकपाको किशुनजी वा वीर गणेशमानजी आफै बनेर उदाहरण पेश गरे भयो नी नारायणकाजी कमरेडले । कसले रोकेको, छेकेको छ र उनलाई किशुनजी, गणेशमानजी बन्नका लागि ? 

संसदीय सत्ता राजनीतिमा उनले पाउन बाँकी एकथान प्रधानमन्त्री बाहेक सबै पाइसके । अब किन दोहोरिएर फेरि उपप्रधान हुनैका लागि प्रधानमन्त्री केपी ओलीलाई घरी कोटरी त, घरी गुटको हौवा देखाएर तर्साउने त कहिले ओलीसँगै लम्पसार परेर पदका लागि बिन्ती चढाउँदै छन् त ? प्रत्यक्षमा चुनाव हारेर पनि राष्ट्रिय सभामा जाने अनि मन्त्री बन्न ओलीको पाउमा लम्पसार परेर, त्यसैका लागि अनेकन तिकडम गर्ने नारायणकाजी प्रवृत्तिले फेरि उल्टै पार्टी एकता, त्याग आदिका प्रसंग उप्काउनु भनेको त मै खाउँ, मै लाऊँ, सुख सयल वा मोज मै गरौं भन्ने सामन्ती चरित्र र व्यवहार होइन र ?


नारायााण्काजी कहिले माइक्रोबसमा चढेर समाचारमा छाउँछन अनि अखबारी समाचारका मसी सुक्न नपाउँदै नयाँ पजेरो किनेर हुइकिन्छन् । घरवार छैन भन्छन, तर आलिसान महलका फ्ल्याटमा राजसी ठाँटबाटका साथमा बस्छन् । कोरोनाको महामारीका कारण भन्दै एक वर्ष तलव नलिने घोषणा गर्छन । पार्टी एकता भन्छन, हर महिना वा हप्तामा कोटरी भेला नगरी सन्चो मान्दैनन् । कहिले दौरा सुरुवाल लाएर चर्चामा आउँछन, कहिले पत्रकारका सामु आँशुका ढिक्का खसालेर सहानुभूतिका पात्र बन्छन् । कहिले ओलीका दाहिना बन्छन, कहिले प्रचण्डका हनुमान दाबी गर्छन । सांसद बापतको तलब रकम नलिने भन्ने हुन वा अन्य सस्ता प्रचारका घोषणामा नारायणकाजी शैलीलाई उछिन्न सक्ने औकात गगन थापाहरुको पनि नहोला जस्तो भइसकेको देखिन्छ ।
 

तर, जताजता शक्ति केन्द्रमा बसे पनि आफू र आफ्नो कोटरीको सदावहार सत्तायात्राका लागि मात्रै अन्तिममा स्वार्थी बन्छन् । फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो यो नारायणकाजीको सुकिलो ज्यानभित्र लुकेको सत्तालोलुप र पद प्रतिष्ठा भनेपछि हुरुक्कै हुने प्रवृत्तिबाट समाजवादको यात्रा तय गरेको सत्तारुढ नेकपाले कसरी सफलता पाउला त ? 


एक पद, एक व्यक्ति, सम्मानजनक क्षमता अनुसारको जिम्मेवारी र राजकीय तथा पार्टी सत्तामा नेतृत्व मिलान वा पार्टी र सरकारलाई खास नीति, विधि र पद्धतिबाट अघि बढाउन नारायणकाजीको कुनै सक्रियता देखिएको छैन ।


जनयुद्धकालभरि शहरमा लुकेका काजी माओवादी शान्ति वार्तामा आएपछि रातारात उग्र क्रान्तिकारी माओवादी बने । १० वर्षे जनयुद्धमा उनले धनयुद्ध शिवाय कुनै संघर्ष र त्याग गर्नु परेन । प्रचण्ड सत्तामा शक्तिशाली रहुन्जेल उनी प्रचण्डभक्त देखिए । उनले किरण, बाबुराम भट्टराईलाई पार्टीबाट निस्कासन गर्न प्रचण्डलाई उत्तेजित पार्ने काममा भूमिका खेलिरहे । 


नेकपा एमाले र माओवादीको पार्टी एकता र दुई तिहाईको सत्ता नेकपाले पाएपछि उनी सत्तामा आफ्नो हात माथि पार्न मात्रै सधै सक्रिय छन् । नेकपा र सरकारलाई उडन्ते सुकिला नारायणकाजी प्रवृत्तिबाट जोगाउन नेकपाकै शीर्ष नेतृत्व र न्यायधीशको भूमिकामा रहेका आम पार्टी कार्यकर्ताले अब दुधको दुध पानीको पानी बनाउने बेला आयो कि ? आखिर कुहिएको आलु समयमा नै नफ्याँके त्यसले सिंगै बोराको आलु नास गर्छ भन्ने चेत नेकपा कार्यकर्ताहरुमा छ नि, छैन र ? ३१ वैशाख २०७७

यो पनि पढ्नुहोस

आफ्नो सुरक्षाकर्मी फिर्ता लैजान सांसद नारायणकाजीको माग

नेतृत्वको नजिक झुम्मिनेबाट नै पार्टी र सरकारलाई अप्ठ्यारो